Logo

ओलीले कुनैपनि पद छोड्नुहुन्न : मन्त्री भट्ट



सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा नदिने दाबी गरेका छन् । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको कार्यक्रम ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टले भनेका छन्,‘मिलनविन्दुमा विशेषगरी मंसिर ४ गते भएको सम्झौता छ, त्यसलाई नै अगाडि बढाएर नै मिलनविन्दु हुन्छ । अरू विषयवस्तुहरू महाधिवेशनमा लगेर सबै टुंग्याउनुपर्छ । उहाँहरूले माग गर्ने कुरा आफ्नो ठाउँमा स्वाभाविक छ तर प्रधानमन्त्रीले अहिले कुनै पनि पद छोड्नुहुन्न । अध्यक्षबाट निक्लने भनेको दुर्घटना मोल्ने हो ।’ प्रस्तुत छ मन्त्री भट्टसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्रीले एउटा पद छोड्नुपर्छ भनेर प्रचण्ड र माधवकुमार नेपाल समुहको रणनीति बाहिर आइसक्यो । अब सहमतिको लागि कुन पद छोड्नुहुन्छ ?

मलाई लाग्छ, कुनै पनि पद छोड्नुहुन्न उहाँले । मिलनविन्दुमा विशेषगरी मंसिर ४ गते भएको सम्झौता छ, त्यसलाई नै अगाडि बढाएर नै मिलनविन्दु हुन्छ । अरू विषयवस्तुहरू महाधिवेशनमा लगेर सबै टुंग्याउनुपर्छ । उहाँहरूले माग गर्ने कुरा आफ्नो ठाउँमा स्वाभाविक छ तर प्रधानमन्त्रीले अहिले कुनै पनि पद छोड्नुहुन्न । अध्यक्षबाट निक्लने भनेको दुर्घटना मोल्ने हो ।

त्यसो भए प्रधानमन्त्रीले कुनै पनि पद छोड्नुहुन्न ?

मंसिर ४ गते भएको सम्झौता अनुसार अघि बढ्नुहुन्छ भन्ने मलाई लाग्छ ।

तर त्यसमा त प्रचण्ड र माधवकुमार नेपाल तयार छैनन् । उहाँहरूले भन्नुभएको छ-हामी मान्दैनौँ, एक पद त छोड्नुपर्छ । अहिलेको विकल्प नै सहमतिको भनेको एक पद छोड्ने ।’ अब के हुन्छ ? 

मान्ने/नमान्ने भन्ने आफ्नो ठाउँमा होला । कुरा राख्ने अधिकार सबैलाई छ । सहमति हुँदा के कुरा भएको थियो, त्यो सहमतिअनुसार अघि नबढिकन यो पद छोड्ने भन्ने कुरा अर्को दुर्घटना हुन जान्छ । सबै कुरा महाधिवेशनमा गएर टुंग्याउने नै बुद्धिमत्ता हुन्छ । त्यो भन्दा बाहिर गयो भने दुर्घटना हुन्छ ।

हिजो नेपाल कम्युनिष्ट पार्टीभित्र प्रचण्ड र माधवकुमार नेपाल समुहको एउटा निष्कर्ष आएको छ-स्थायी समितिको बैठकले कुनै एक पद छोड्न निर्देशन दिने भनेर ? 

निर्देशन उहाँहरूले मात्रै दिने होइन । बैठकमा के हुन्छ, छलफलले निष्कर्ष निकाल्छ । सहमतिबाटै जानुपर्छ भन्ने ठुलो संख्या त्यहाँ पनि छ । त्यो बहुमत, अल्पमतको कुरा होइन । एकता हुँदा बहुमत, अल्पमतको प्रश्न छैन । हरेक मतभेद, समस्याको सहमतिबाट निकास गर्ने भन्ने भईसकेपछि अहिले बहुमत, अल्पमतको विषय नै होइन ।

पार्टीभित्र त बहुमत र अल्पमतको विषय देखिएको छ । प्रधानमन्त्रीले बहुमतको निर्णय मान्नुपर्छ । निर्णय आइसक्यो बाहिर, सार्वजनिक भईसक्यो त ? 

प्रचण्डले एकजनाले निर्णय गरेर निर्णय हुने कुरा होइन । त्यहाँ त स्थायी समितिको सदस्यहरूको आ–आफ्नो विचार होला । आफुलाई के विचार लाग्यो त्यो कुरा नै सत्य हो भन्ने कुराले त कुने चीज पनि अघि बढ्न सक्दैन । सबैले विचार राखिसकेपछि त्यसको संश्लेषण गर्ने त्यो आफ्नो ठाउँमा छ । महाधिवेशन नभएसम्म यसको समस्या बहुमत, अल्पमत गरेर टुंगिदैन । त्यही भएर यसलाई सहमतिबाटै टुंग्याउनुपर्छ ।

सहमति हुन सकेन भने बहुमतको निर्णय प्रधानमन्त्रीले मान्नुपर्छ कि पर्दैन ?

सकेन भने महाधिवेशनमा जाने, महाधिवेशनबाटै टुंग्याउने, यो नै वैज्ञानिक विधि हुन्छ । मूल पक्ष भनेको हरेक समस्याको समाधान सहमतिबाटै गर्ने र महाधिवेशनमा पनि विचारहरूको मन्थन पनि गर्नुपर्छ । त्यतिखेरको म्याण्डेट हो, त्यो म्याण्डेटभन्दा बाहिर जाँदैन ।

सहमति प्रधानमन्त्रीले तोड्नुभयो अरे, सहमतिको काम छैन । बहुमतीय प्रणालीबाटै जानुपर्छ र प्रधानमन्त्रीले एक पद छोड्नैपर्छ भन्ने दाहाल–समूहको दाबी छ, अब उहाँले पार्टी अध्यक्ष छोड्नुहुन्छ कि प्रधानमन्त्री ?

मैले अघि नै भनिसकेको छु कि उहाँले प्रधानमन्त्रीले छोड्नुहुन्न । छोड्यो भने दुर्घटना हुन्छ ।

नेताहरूको भनाई के छ भने लोकतन्त्रमा बहुमतको निर्णय मान्नैपर्छ, अनि उहाँले बहुमतको निर्णय मान्नुपर्दैन् त ?

लोकतन्त्रमा बहुमत/अल्पमत भन्ने हुँदैन, त्यहाँ विशिष्टता हुन्छ । विशिष्टता आ–आफ्ना पार्टीको स्कुलिङ्ग छन् । एकता भएको छ । एकतालाई कसरी पूर्णतया दिने भन्ने विषय हिजोका सहमतिका बुँदाहरू छन् । त्यही अनुसार जाने कुरा हुन्छ । प्रधानमन्त्रीले तोड्यो भनेर एक पक्षको कुरा सुनेर हामीले कुनै धारणा बनाउनु हुँदैन भन्ने लाग्छ । प्रधानमन्त्रीको ६ गते प्रचण्डको जुन खालको सहमति भएको हो, बाहिर आइसकेपछि, होइन सहमति भएको भन्ने पनि मैले सुनेको छु । सहमति भित्र हुने अनि बाहिर आएर अर्को कुरा गर्ने कुराले पार्टी बन्दैन ।

अहिलेको अवस्थामा एक पद छोडेर प्रधानमन्त्रीले प्रचण्डलाई अध्यक्ष बनाउने सम्भावना कत्ति छ ?

त्यो सम्भावना नै म देख्दिन । मैले देखेको कुरा स्पष्ट नै राखेँ ।

प्रधानमन्त्रीले कुनै पनि पद नछोड्दाखेरि पार्टी फुट्यो भने के गर्ने ?

पार्टी फुट्नुपर्ने आवश्यकता नै छैन । मंसिर ६ गते जुन सहमति भएको छ, त्यसलाई पालना गरेर पार्टी फुटाउनुपर्ने आवश्यकता देख्दिन ।

हिजो प्रचण्डले भन्नुभएको छ, प्रधानमन्त्रीले एक पद नछोडेदेखि दीर्घकालीन रूपमा पार्टी एकता हुँदैन । सहमतिमा जान सकिँदैन । पूर्ण रूपमा नै छोड्नुपर्छ । प्रधानमन्त्रीले राजीनामा दिँदा के हुन्छ, पार्टी अध्यक्षबाट ?

महाधिवेशन नहुन्जेल दुइ अध्यक्षले जुन हस्ताक्षर गर्नुभएको छ, त्यो हस्ताक्षरबाट बाहिर निस्कने भनेको एक प्रकारले पार्टी फुटाउने नै हो । जसले भनिरहेको छ, त्यो ठिक होइन । आफै सहमति गरेर एकता गर्ने र त्यो एकता सहमतिभित्रै डिमान्ड गर्ने भन्ने कुरा त त्यो ठिक ठाउँमा ल्याउने पार्टीलाई हो भन्ने लाग्दैन मलाई ।

हिजो माधवकुमार नेपाल र के.पी. शर्मा ओलीबीचमा पनि गोप्य भेटवार्ता भएको छ, बालुवाटारमा । सहकार्यको लागि अध्यक्ष बनाउन माधव नेपालको प्रस्ताव छ । मलाई अध्यक्ष बनाउनुस्, महाधिवेशनपछि म तपाईलाई साथ दिन्छु भन्नुभएको छ उहाँले ।

उहाँहरूबीच के छलफल भयो त्यो त हामीसम्म आइपुगेन । आइ नपुगेको हुनाले दुई नेताहरूको बीचमा के कुरा भयो त्यो भन्न सकिँदैन ।

माधवकुमार नेपाललाई महाधिवेशनपछि अध्यक्ष बनाउने सम्भावना कति छ ?

भोली माधव नेपाल अध्यक्ष हुन सक्नुहुन्छ, प्रचण्ड अध्यक्ष हुनुहुन्छ । तीभन्दा बाहिर भोली दोस्रो तथा तेस्रो पुस्तामा पनि जानसक्छ । त्यो महाधिवेशनमा जाने आँट गर्नुप¥यो । अहिले राजीनामा दिनुपर्छ भन्ने अवस्था नै छैन । महाधिवेशनमा जाऔँ । महाधिवशेनमा जसका विचारहरूलाई स्वीकृत गर्छ, त्यसैले नेतृत्व गर्छ ।

माधवकुमार नेपालको एउटा प्रस्ताव पनि छ । महाधिवेशन आयोजक समिति पनि बनाउने र त्यसको संयोजक माधवकुमार नेपाललाई बनाएर जाने ?

सहमतिबाट जसलाई बनाए पनि हुन्छ । त्यसमा केही आपत्ति भएन । प्रस्तावलाई सचिवालयले स्थायी समितिमा ल्याएर निर्णय गरेर जाँदा हुन्छ । माधवकुमार नेपालजी संयोजक हुनुहुँदैन भन्ने कुरा होइन । उहाँ पनि वरिष्ठ नेता हो । उहाँको नेतृत्वमा पनि हुनसक्छ, त्यो असम्भव हुनुहुँदैन ।

प्रचण्ड र तपाईको बीचमा संवाद पनि हुन छोड्यो । के कारणले उहाँको साथ छोड्नुभयो ?

मैले कसैलाई छोडेको छैन । जुन मूल्य–मान्यतामा एकता भयो, त्यही मूल्य–मान्यताहरूलाई अक्षरंश पालना गर्नुपर्छ । जुन सहमति भयो, त्यो सहमतिमा अघि बढ्नुपर्छ । यतिखेर एकता भईसकेपछि क्याम्पको कुरा गर्नुहुन्न । फलानो क्याम्प, यो गुट, ऊ गुट भन्ने कुरा पुरानो पार्टीलाई ध्वस्त गरिसकेपछि नयाँ विचार, कार्यशैलीहरूको विकास गरेर अघि बढ्नुपर्छ भन्ने हो ।

तपाई त प्रचण्डको क्याम्प छोडेर के.पी. ओलीको क्याम्पमा प्रवेश गर्नुभयो अरे नि ?

कि त नेपाल कम्युनिष्ट पार्टी बनेको भन्नुप¥यो । पुरानै ठाउँमा फर्कने हो भने त उहाँहरूले के गर्नुप¥यो भने एमालेहरू एकतिर जान्छन्, हामी एकतिर जान्छौँ भन्ने कुरा आउला । अहिले यो गर्नुहुन्न, पार्टी विघटनमा जान्छ । यसले देशमा गम्भीर अस्थिरता पैदा गर्छ भन्दा म के.पी. क्याम्पमा गएको कसरी हुन्छ ?

भारतको आपत्तिजनक पत्र, कालापानी र लिम्पियाधुरा नेपालीहरू चोरी छिपी पस्न लागेकोले हामीलाई खबर गर्नू, भारतीय अधिकारीहरूद्वारा नेपाली भूमि आफ्नो क्षेत्र भएको दाबी गर्दै पत्र पठाएको छ । अब तपाईहरू के गर्नुहुन्छ ?

त्यो मलाई जानकारी नभएको विषयमा कसरी भन्न सक्छु ? जानकारी भईसकेपछि स्पष्ट रूपमा म तपाईका बीचमा आउँछु ।
आइसक्यो दार्चुलाका सि.डि.ओ. ले भनिसक्नुभयो । केन्द्रमा सबै रिर्पोटिङ्ग भईसकेको छ भनेर ? अनि तपाईलाई अहिलेसम्म थाहा छैन् ?
रिर्पोटिङ्ग भईसकेपछि क्याबिनेटमा छलफल होला । मन्त्रीपरिषदमा छलफल भईसकेपछि त्यसको के निकास हो कूटनीतिक रूपले त्यसको जवाफ के दिने भन्ने कुरा त आउला ।

त्यसो भए हिजोको मन्त्रीपरिषदको बैठकमा यसबारेमा छलफल भएन ?

हिजोको मन्त्रीपरिषदको बैठकमा यसबारेमा छलफल भएको छैन ।

त्यसो भए तपाईहरूले अहिलेसम्म पत्र पाउनुभएको छैन भारतले पठाएको ?

त्यो पत्रको अध्ययन गर्न मैले पाएको छैन । अध्ययन गरिसकेपछि मैले आफ्ना विचारहरू राख्न सक्छु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot