Logo

‘कोरोना संक्रमण नफैलियोस भनेर हामीले आफ्नो प्रोटोकलअनुसार नियन्त्रणमा नै राखेका छौँ’ : प्रवक्ता शाही



नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले अहिलेसम्म आफ्नो संगठनका १ सय ५८ जनामा कोरोनाको संक्रमण देखिएको तथ्यांक सुनाए । र, त्यसमा ९७ जना उपचारपछि निको भएर फिर्ता भैसकेको पनि उनले सुनाए । आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रदेश नम्बर २ मा कार्यरत ३४ जना प्रहरीमा कोरोनाको संक्रमण देखिएको पनि सुनाए । प्रस्तुत छ प्रवक्ता शाहीसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना संक्रमणको कुरा गर्दाखेरि नेपाल प्रहरीमा धेरै देखियो, किन ? तपाईहरूले पछिल्लो समय पाएको तथ्याङ्कहरू स्वविवरण जानकारी गराउनुहोस त ?

अहिले पुलिसमा जम्मा १५८ जना संक्रमित भएको तथ्याङ्क छ । त्यसमा ९७ जना उपचारपछि फिर्ता भइसकेका छन् । यसमा अहिलेसम्म २ नम्बर प्रदेशमा बढी रहेको तथ्याङ्कमा देखिन्छ ।

तथ्याङ्कको कुरा गर्दा २ नम्बर प्रदेशमा बढी छ, त्यहाँ अहिलेसम्म कति जना प्रहरीलाई कोरोना संक्रमण भयो ?

२ नम्बर प्रदेशमा हेर्दाखेरि ३४ जनामा संक्रमण भएको देखिन्छ ।

स्याङ्जामा पछिल्लो तथ्यांकअनुसार एस.पी. सहित १८ जनामा कोरोना देखिएको कुरा आएको छ नि ?

पहिला ४ जनालाई भयो । स्वास्थ्य मन्त्रालय र डब्ल्यू.एच.ओ. को प्रोटोकल अनुसार हामीले एउटा कार्यविधिहरू बनाएका छौँ । ४ जना देखिएपछि ट्रेसिङ्ग गर्दै जान्छ, पछिल्लो क्रममा १८ जनामा देखिएको छ । पहिला देखिएको मान्छेलाई हामीले उपचारमा पठाउँछौँ । त्यसपछि क्वारेन्टाइनमा राख्छौँ । त्यही क्रममा अहिले क्वारेन्टाइनमा बसिरहेको मानिसहरूमा १८ जना थप पुष्टि भएर उहाँहरूलाई आ–आफ्नो ठाउँमा क्वारेन्टाइनमा राखिएको छ ।

सुरक्षा निकायमा जुन किसिमले कोरोनाको संक्रमण देखियो नि अब भयावह स्थिति आयो भनेर भन्न थाले मन्छेहरूले, तपाईले रोकथाम तथा नियन्त्रणका लागि कस्तो रणनीति बनाउँदै हुनुहुन्छ ?

हाम्रो फ्रन्टलाइनमा बस्ने हाम्रो निकायहरू हो, त्यसमा कर्मचारीले आफुलाई कसरी सुरक्षित राख्ने, कोरोनाबाट कसरी रोक्ने भनेर एउटा प्रोटोकल बनाएका छौँ । त्यो सँगसँगै पनि यदि भईहाल्यो भनेपनि त्यो समुदायमा नजाओस् भनेर उहाँहरूको स्वास्थ्यको लागि पनि हाम्रो प्रोटोकल छ । जस्तो बाढी÷पहिरोमा खटिनुपर्ने हुन्छ । आम नागरिकको ज्यानको सुरक्षा गर्दाखेरि कहिलेकाहीँ हामीमा संक्रमण हुनसक्ने अवस्था देखिन्छ । त्यो हामीमा मात्र होइन, विदेशमा टेक्नोलोजीको उच्च प्रयोग भएको देशहरूमा पनि संक्रमणको उच्च जोखिम देखिन्छ । त्यसमा हामीले रोकथाम पनि गर्ने र उहाँहरूको उपचारको व्यवस्थापन मिलाएको हुनाले हाम्रो कर्मचारीहरू पनि मैले भनेँ, १५८ जनामा ९७ जना निको भएर आइसक्नुभएको छ । बाँकी पनि आफ्नो स्वास्थ्यलाभको क्रममा हुनुहुन्छ । त्यसबाहेक हाम्रैभित्र पनि नबढोस् भनेर एउटा प्रोटोकलअनुसार क्वारेन्टाइनमा बस्ने र उपचारको व्यवस्था गरेको हुनाले यसलाई हाम्रो आफ्नो प्रोटोकल अनुसार नियन्त्रणमा नै राखेका छौँ । किनभने हाम्रो दैनिक ४५००० जस्तो जनशक्ति प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पब्लिकहरूमा काम गरिरहेका छन् ।

अहिलेको पछिल्लो तथ्याङ्कको कुरा गर्दाखेरि डरलाग्दो अवस्था छैन नेपाल प्रहरीमा ?

यो विश्वभरि फैलिएको च्यालेन्ज हो । सबैभन्दा पहिला हामीले हाम्रो आफ्नोलाई सुरक्षित राख्नुपर्छ । सँगसँगै हाम्रो सेवाग्राही भनेको हाम्रो आम नागरिक हो, हामी आशा गर्छौँ भने उहाँहरूले पनि आफ्नो प्रोटोकल मेन्टेन गरिदिनुभयो, अनावश्यक भिडहरू गरिदिनु भएन । हरेक व्यक्ति आफैमा यो संक्रमणको विरुद्धमा सैनिक हो । त्यो गरिदिनु भयो भने मलाई लाग्छ, हामी यो कुरा चाँडै नै कन्ट्रोल गर्छौँ ।

सुरक्षाकर्मीहरू त फिल्डमा गएर काम गर्ने, उहाँहरूको काम नै भनेको जनतालाई सुरक्षा दिने हो । जनतालाई सुरक्षा दिने व्यक्तिहरूमा नै कोरोना संक्रमण भईसकेपछि त्यो त भयावह स्थिति आउँछ । नेपालमा समुदायमा गयो कोरोना ?

यो स्वास्थ्य मन्त्रालयले भनेको छ । यसमा बोल्न हाम्रो विज्ञता पनि पुग्दैन । हाम्रो तर्फबाट हामीलाई जुन प्रोटोकलहरू दिनुभएको छ, यसलाई हामीले मानेका छौँ । कर्मचारीहरूलाई संक्रमण फैलिन नदिने र फैलिई हाल्यो भने उहाँहरूलाई सुरक्षित राख्ने प्रोटोकलले गर्दाखेरि हाम्रो प्रहरीबाट त्यस्तो होलाजस्तो लाग्दैन ।

त्यसो भए वीरगञ्जको कुरा गरौँ । पर्सामा पनि समस्या जटिलतातिर गईरहेको छ । सुरक्षाकर्मीहरूले राम्रोसँग काम गरिरहेका छन् त्यहाँ ?

हाम्रो रोल त्यहाँ के हुन्छ भने नागरिकको सुरक्षा गर्ने र अशान्ति फैलिन नदिने हो । यो संक्रमणको कुरा स्वास्थ्यको कुरा हो । उहाँहरूले जुन कुरा हामीलाई गाइडलाइन दिनुहुन्छ, त्यो कुरा हामीले स्ट्रिक्टली मान्छौँ ।

आवतजावत त व्यापक रूपमा भएको छ सिमाबाट, भारतबाट धेरै मान्छेहरू आए अरे प्रदेश नम्बर २ मा ? आवातजावात रोक्न यहाँहरुको भूमिका कस्तो हुन्छ ?

यो संयुक्त रूपमा गर्ने प्रयास हो । यो कुनै एउटा निकायले गरेर हुँदैन । अन्य सुरक्षाकर्मीहरू बोर्डरमा खटिइनुभएको छ । नेपाल सरकारले पनि कहाँबाट आउने, कसरी आउने, आउँदाखेरि कुन प्रोटोकल मान्ने भन्ने त्यहाँको स्थानीय जनप्रतिनिधि, हामीजस्तो सुरक्षाकर्मीहरू लागिरहनुभएको छ । त्यसमा मलाई लाग्छ, केही हदसम्म हाम्रो पूर्ण रूपमा शिल्ड गर्न पनि मद्दत भएको छ । तर नागरिकको ठुलो भूमिका हुन्छ । त्यो कुरालाई सबैले पालना गरिदिनुभयो हामी यसलाई चाँडोभन्दा चाँडो नियन्त्रण गर्न सक्छौँ ।

अहिलेको अवस्थामा तपाईहरूलाई समस्या छ कि छैन फिल्डमा गएर काम गर्नका लागि ?

अहिले हाम्रो एउटा प्रोटोकल अनुसार केन्द्रबाट स्थानीयस्तरमा हाम्रो सम्पर्क भईरहेको छ । हाम्रो हेडक्वार्टरबाट नेपाल सरकारको पनि सहयोग भईरहेको छ । त्यसकारणले हामीलाई समस्या छैन ।

त्यसो भए सुरक्षाकर्मीहरूलाई कुनै समस्या छैन फिल्डमा काम गर्नको लागि ?

पहिलेदेखि नै हामीले चुनौतीपूर्ण कामहरू गरिरहेका छौँ । यसमा आउने दिनमा निरन्तर रूपमा चुनौतीसँग डिल गर्दै काम गर्नसक्छौँ ।

टेक्नोलोजीको कुरा गर्दाखेरि विश्व त अहिले विज्ञान र प्रविधिमा गईसकेको छ । नेपाल प्रहरीले पनि सिधै मानिसलाई छुने कि अरू प्रविधि प्रयोग गर्ने ?

अहिले त कार्यविधिले के गरेको छ भने मान्छे गरेर ल्याएपछि थुनिहाल्नुपर्ने अवस्था छैन । कतिखेर कानुनले थुनेर कारबाही गर्नुपर्ने अवस्था आउँछ । त्यसमा पनि हाम्रो स्वास्थ्य मन्त्रालयको सहयोगमा तुरुन्तै पि.सि.आर गरेर मात्र भित्र राख्ने प्रोटोकल पालना गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot