Logo

उपत्यकामा ५३ जना सङ्क्रमित, तीनवटै नाकामा स्वाब सङ्कलन



काठमाडौँ, १४ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा ५३ जना कोरोनाभाइरसको नयाँ सङ्क्रमित थपिएको जनाएको छ । जसमध्ये ४८ जना काठमाडौँका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा छ वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट ५३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एक तथा काठमाडौँका ११ जनामा सङ्क्रमणको पुष्टि भएको छ । शुक्रराज ट्रपीकल तथा सरुवा रोग नियन्त्रण अस्पताल, टेकुमा गरिएको परीक्षणमा काठमाडौँका नौ तथा ललितपुरका एक गरी दश जना नयाँ सङ्क्रमित थपिएका छन् ।

ललितपुरस्थित पाटन अस्पतालमा एक, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा एक, नेपाल प्रहरी अस्पतालमा २१ तथा स्टार अस्पताल सानेपामा गरिएको स्वाब परीक्षणमा काठमाडौँका छ र ललितपुरका दुई जना काठमाडौँमा उपत्यकामा कुल ५३ जना कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको हो ।

मन्त्रालयले काठमाडौँमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रवेशको नाकामा नमुना परीक्षण सुरु गरेको छ । काठमाडौँ प्रवेशको तीन नाकामध्ये फर्पिङ् नाकाबाट ९५५, थानकोट नाकाबाट दुई हजार ९१४ र साँगा नाकाबाट ९४४ जनाको स्वाब सङ्कलन गरिएको छ । तीनै नाकाबाट चार हजार ८१३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिरहेको मन्त्रालयले जनाएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot