Logo

पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु



बागलुङ, १४ साउन । सोमबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिँदा बागलुङमा तीन जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–२ खोलेसबाङको पहिरोमा १३ र १२ वर्षका २ बालबाबालिकाले ज्यान गुमाए भने जिल्लाको निसिखोला गाउँपालिका–१ मा पहिरोले पुरिएर ५ वर्षीय बालकको मृत्यु भएको छ ।

तमानखोलामा गएको पहिरोले पुरिएर स्थानीय पानबहादुर विकका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भयो भने श्रीमती होमकुमारी विक गम्भीर घाइते हुनुभएको छ । त्यसै गरी निसिखोलामा गएको पहिरोमा स्थानीय कमल परियारका ५ वर्षीय छोरा समीर परियारको मृत्यु भएको छ ।

निरन्तर परिरहेको वर्षा र गाउँगाउँमा पहिरो जान थालेपछि यहाँका स्थानीय त्रसित मात्र बनेका छैनन् आक्रोशित पनि भएका छन् । जनप्रतिनिधिले मनपरी ढंगले गाउँगाउँमा सडक खनेका कारण जन्मेपछि पहिलोपटक घर बगाउने, मान्छे मर्ने पहिरो देख्न परेको भन्दै स्थानीय खगेन्द्र घमालले दुखेसो पोख्नुभयो । ‘हेर्दाहेर्दै छिमेकीको घर पहिरोले बगायो, हाम्रो पनि कति बेला बगाउँछ भन्ने स्थितिमा छ’, घमालले भन्नुभयो– ‘घरमा ६० वर्षकी वृद्ध आमा हुनुहुन्छ, छोराछोरी, श्रीमती र बूढी आमालाई कसरी सम्हाल्नु ।’

‘घरको तल, माथि डोजर चलाएर बाटो बनाएका छन्’, स्थानीय सम्झना सिर्पालीले भन्नुभयो– ‘घरका लोग्नेमान्छे कमाउन गएका छन्, घर पहिरोको जोखिममा परेको छ, बूढीसासू र १५ महिनाको काखे बच्चा च्यापेर छिमेकीको घरमा कति दिन बस्ने, के खाने रु’ वडा अध्यक्ष अहिलेसम्म पनि हेर्न नआउनुभएको तथा वडा सदस्य आएर जोगिएर बस्नुस् भनेर फर्कनुभएको उहाँले बताउनुभयो ।

पहिरो गएपछि प्रहरी र स्थानीय जनप्रतिनिधि आएर सुरक्षित भएर छिमेकी र आफन्तको घरमा गएर बस्नु भनेर फर्किएको उनीहरुको भनाइ रहेको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot