Logo

विवाद समाधानका लागि अध्यक्षद्वयलाई सहमतिको जिम्मा



काठमाडौँ, १४ साउन। नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

अध्यक्ष प्रचण्डको अध्यक्षतामा मङ्गलबार प्रधानमन्त्री निवासमा बसेको स्थायी कमिटी बैठकले पार्टीमा देखिएको विवादका विषयमा अध्यक्ष ओलीसँग छलफल गरेर निकास निकाली बैठकको अर्को मिति तय गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

साउन ६ गतेको स्थायी कमिटी बैठकले साउन १३ लाई बैठक मिति तय गरेको थियो । बैठकका लागि गृहकार्य नपुगेको भन्दै प्रधानमन्त्री ओलीले मङ्गलबार बिहान बैठक स्थगित गर्नुभएको थियो । तर आफूलाई बैठक स्थगित भएको जानकारी नभएको भन्दै पार्टीका अर्का अध्यक्ष प्रचण्डले बालुवाटारमै आफ्नो अध्यक्षतामा स्थायी कमिटीको बैठक गर्नुभएको थियो ।
बैठक बस्नुअघि अध्यक्ष प्रचण्ड, सचिवालय सदस्य झलनाथ खनाल लगायतका नेताले प्रधानमन्त्री ओलीसँग बालुवाटारमै छलफल गर्नुभएको थियो । छलफलमा आफूले स्थगित गरेको बैठकमा नजाने, तपाईंहरू बस्नुस्, कुराकानी गर्नुस् भनेर प्रधानमन्त्री ओलीले पठाउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग भएको छलफलबारे जानकारी गराउनुभएको थियो । उहाँले पार्टी एकता बलियो बनाउन सबैले आआफ्ना ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभएको थियो । बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम, स्थायी कमिटी सदस्य भीम रावल लगायतका नेताले धारणा राख्नुभएको थियो । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा २९ जना स्थायी कमिटी सदस्यको सहभागिता रहेको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot