काठमाडौं, १४ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र सहमति निर्माणका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् । उनी हिजो साँझ आफै उपाध्यक्ष बामदेव गौतमको निवास पुगेर डिनरसहितको छलफल गरे ।
गौतमले नेकपामा सहमतिका लागि छ बुँदे प्रस्ताव अगाडि सारेपछि उत्साही भएका ओलीले त्यसमा सहमतिको सन्देश पनि दिएका छन् । उनले सहमतिका लागि आफू लचिलो बन्न तयार भएको भन्दै गौतमलाई एकतावद्ध भएर बढ्ने माहोल तयार गर्न समेत भनेको बुझिएको छ ।
ओलीको राजीनामा मागिरहेको समुहबाट बामदेवको फरक धारणा आएको छ । अब राजीनामाको पक्षमा सचिवालयका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ मात्र बाँकी रहेका छन् । राजीनामाको विपक्षमा सचिवालयमा पल्लाभारी भएको छ ।
ओलीले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको सम्पूर्ण काम गर्ने गरी प्रस्ताव पठाउँदै आएका छन् । त्यसका लागि राजीनामाको मागबाट पछि हट्नुपर्नेछ । एकपटक प्रचण्ड यसमा लचिलो पनि भएका थिए । तर, फेरि धारणा बदले । यसमा मुख्य कारण माधव नेपाल थिए ।
माधव नेपाल भने सचिवालयका अन्य नेताहरु ओलीको राजीनामा नमाग्ने पक्षमा उभिएपनि आफू सशक्त रुपमा प्रस्तुत हुने पक्षमा पगेका छन् । उनी निकट स्रोतका अनुसार ओलीको सरकारबाट बर्किगमनको एजेन्डाबाट माधव नेपाल टसमस हुनेछैनन् ।
पार्टी बैठकबाट नै ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्नुपर्ने पक्षमा माधव नेपाल रहेका छन् । तर, प्रचण्डले सकेसम्म सहमतिबाट अगाडि बढ्ने भन्दै संयमता अपनाउन भनेबाट निर्णय रोकिएको छ । यसरी प्रचण्ड ओलीको राजीनामाबाट ब्याक भएपनि माधव नेपाल ब्याक नहुने गरी अडानका साथ बस्ने रणनीति बनाएको बुझिएको छ ।-File Photo