Logo

वामदेवको प्रस्ताव छलफलको लागि पेश गरिएकै थिएन: भीम रावल



सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले हिजोको स्थायी कमिटीको बैठक औपचारिक बैठक नै भएको स्पष्ट पारेका छन् । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले उपाध्यक्ष वामदेव गौतमले हिजोको बैठकमा छलपलको लागि भनेर कुनै प्रस्ताव नै पेश नगरेको जिकिर गरे । प्रस्तुत छ रावलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

हिजोको बैठकमा तपाईले प्रचण्डकोे आलोचना गर्नुभएछ ? बाहिर आइसक्यो समाचारहरू ।
गलत । त्यो पूर्ण रूपमा गलत । त्यो दूराशययुक्त समाचार हो ।

तपाईले हाम्रो टाउको देखाएर बार्गेनिङ गर्ने र पदको भागबण्डा गर्ने अध्यक्ष प्रचण्डको कदमलाई म साथ दिन्न भन्नुभएको थियो अरे नि ?

त्यो शब्द मेरो मुखबाट निक्लेको पनि छैन । त्यो कुरा कसले बाहिर प्रेसित गरेको हो, तिनीहरू नै विखण्डनकारी र समस्याको जड हुन् ।

तपाईले त सधैँ प्रचण्डलाई साथ दिएर जान सकिदैँन, अब हामी ब्याक हुनुपर्छ पनि भन्नुभयो अरे नि ?

मैले भनेको कुरा के हो भने बैठकमा हामीले विधि, प्रणाली, पार्टीलाई एकताबद्ध बनाइराख्नको लागि पार्टीमा हामीले धेरै लामो समयदेखि प्रयास गर्दै आएका छौँ । हामी यो पार्टी विखण्डन नहोस्, पार्टी प्रभावकारी होस् भन्ने कुरालाई ध्यानमा राखेर बैठकको आरम्भमा नै पार्टीको समीक्षा हुनुपर्छ, एम.सी.सी. प्रति निर्णय हुनुपर्छ भन्यौँ तर कतिपय व्यक्तिहरूले के भनेभन्दा यो केवल पदको लागि झगडा हो । अहिले हामीले जुन विधिको कुरा उठाइरहेका छौँ, यिनीहरूले पार्टी फुटाउन खोजिरहेका छन् भनेर ठ्याक्कै उल्टो प्रचार गर्न खोजेका होलान् । मैले हिजोको बैठकमा के भनेको थिएँ भने हामी यो पार्टीलाई बलियो, एकताबद्ध बनाउन चाहन्छौँ, यो कुनै पदको झगडा होइन यद्यपि हामी एउटा नीतिमा जाँदाखेरि त्यहाँ पदको प्रसंग पनि आउला, त्यो बेग्लै कुरा हो । तर हाम्रा यी प्रयासहरूलाई केबल पदको लागि मात्र हो भन्ने यदि कसैले बाहिर सन्देश दिन खोेजेको छ भने त्यो पूर्ण रूपमा गलत हो । हाम्रो नीति, सिद्धान्त, विधिको कुराबाट अरूको अन्यत्र मोडेर यो पदको लागि मात्र हो भनेर जुन कुरा गरिएको छ, त्यो होइन, त्यो गलत हो । त्यसैगरी वामदेवजीले पनि प्रस्ताव राख्नुभएको थियो । मैले त्यस सन्दर्भमा के भनेको थिएँ भने हामी पार्टी एकताबद्ध बनाउन प्रयास गर्छौँ, कसैले त्यसमा अग्रसरता देखाउँछ भने त्यो नराम्रो कुरा होइन, राम्रो कुरा हो ।

तपाईले वामदेव गौतमको प्रस्तावलाई पार्टी एकताको लागि सकारात्मक भन्नुभयो अरे ?

वामदेवजीले बोल्नुहुन्छ भने पनि राम्रो कुरा हो तर सबैभन्दा पहिले त कमिटीमा छलफल हुनुपर्छ नि । पार्टीको विधि र प्रणालीमा आएर टुंगो लगाउने परिपाटीमा हामी जानुपर्छ । यो दुई अध्यक्षमात्रको कुरा पनि होइन । तर यो हामी सबैको सरोकारको विषय हो । दुईजना मिले हामी सबै मिल्ने, २ जना व्यक्ति झगडा गरे हामी सबै झगडा गर्ने, यो होइन भनेर मैले पार्टीको विधि र प्रणालीलाई जोड दिएर हामीले फुटको कुरा गरेका होइनौँ । पार्टीको विधि, अनुशासन केही पनि नमान्ने हुनाले पार्टी फुट्छ । पार्टीमा विधि, प्रणालीमा जाऔँ, त्यसले एकता ल्याउँछ भनेर मैले भनेकोमा ठीक मैले भनेको कुराको विपरीत प्रचार गरियो, त्यो दूराशयीयुक्त हो, मैले त्यसो भनेको छैन ।

वामदेव गौतमको ६ बुँदे प्रस्तावले पार्टीमा तरंग उत्पन्न भयो र के.पी. शर्मा ओलीलाई बलियो बनायो । उहाँले हिजो के.पी. शर्मा ओलीसँग डिनर संवाद पनि गरिसक्नुभयो । तपाईहरू कता हुनुहुन्छ ?

कुनै नेताले प्रधानमन्त्रीसँग भोजनसहितको वार्ता गर्नुहुन्छ, त्यो उहाँको कुरा हो, त्यसमा म केही पनि भन्न चाहन्न । तर, हाम्रो सचिवालयमा कतिपय व्यक्तिहरू कता लागे, यो हुँदै आएको कुरा छ । व्यक्तिले, उपाध्यक्षले एउटा प्रस्ताव ल्याउन सक्नुहुन्छ, मेरा पनि प्रस्ताव होलान्, यस्तो अवस्थामा कसरी जाने भनेर आफ्ना प्रस्तावहरू पनि बैठकमा राख्नुपर्छ भन्ने मेरो जोड छ ।

वामदेवजीले त आफ्नो प्रस्ताव पार्टी बैठकमा ल्याउनुभयो नि ?

उहाँले त्यो कुरा राख्नुभयो र जानुभयो । उहाँको प्रस्ताव छलफलको लागि पेश गरिएकै थिएन । उहाँले के भन्नुभयो भने अब मैले यो कुरा राखें अब म जान्छु भनेर जानुभयो । अनि त्यसपछि हुन्छ त छलफल ? कुनै व्यक्तिले प्रस्ताव राखिसकेपछि त्यसमा छलफल हुनुपर्छ । अरूका धारणा सुन्नुपर्छ । उहाँले मेरो धारणा सुन्नुभयो, मेरो धारणा सुन्नुभएकोमा मैले धन्यवाद नै भनेँ । तर छलफलको लागि राख्नको लागि त कार्यसूची बन्नुपर्छ । अनि त्यसले एउटा वातावरण बनाउँदै लैजान्छ र यसले समाधानतिर लैजान्छ भनेर मैले सुरुदेखि भन्दै आएको छु । मेरा पनि प्रस्ताव छन् नि त्यहाँ ।

नेपाल कम्युनिष्ट पार्टीमा धेरै प्रस्तावहरू आए तर कुनैपनि प्रस्तावले समस्याको समाधान गरेन । दुवै पक्ष समानान्तर शक्ति संघर्षमा गईसके । प्रचण्ड, माधवकुमार नेपाल समुह पनि कमजोर भयो । हिजो स्थायी समितिका सदस्यहरूले पनि प्रधानमन्त्रीको राजीनामा दिनुपर्दैन भनेर भनेछन । जस्तो टोपबहादुर रायमाझी हिजो बैठकमा नै आउनुभएन । प्रचण्ड समुहका नेताहरूले अहिलेको समयमा प्रधानमन्त्रीलाई साथ दिनुभयो नि ?

म पार्टीको पक्षमा छु सुरुदेखि नै । व्यक्तिविशेषलाई घृणा गर्ने र व्यक्तिविशेषलाई पक्ष गर्ने खालको म होइन । एम.सी.सी. सम्बन्धि कुरा भयो, म राष्ट्रियताको कुरा गरिरहेको छु । पार्टी विधि, प्रणालीमा चलुञ्जेल सबैको साझा उद्देश्य एउटै हुन्छ । हिजो जम्मा ४४ जना स्थायी कमिटिका सदस्यहरू वामदेवजीलाई पनि नगन्ने हो भने अरू २८ जना छन् ।

२८ जना स्थायी समितिका सदस्यले प्रचण्ड र माधवकुमार नेपाललाई साथ दिन्छन् त ?

नदिएदेखि कसरी यो बैठक हो भनेर उहाँहरू बैठकमा उपस्थित हुनुभयो त, जो नआउने त हिजो आफै आउनुभएन । त्यसैले को कमजोर को बलियो तुलामा जोखेर हेर्ने बेला होइन । यो त के हो भने पार्टी, देशलाई कसरी बलियो बनाउने, नेपालको स्वाधिनता, अखण्डता बलियो बनाउन कसरी जाने, त्यतातिर सोच्नुपर्छ । त्यसैले मैले नीति, विधि, प्रणाली यो विषयमा ध्यान दिऔँ । यो झगडा भनेको पदको लागि मात्र हो, कोही मन्त्री, कोही अध्यक्ष हुनमात्र हो, भनेर बाहिर गलत प्रचार नगरौँ । त्यो जसले भन्यो उसैको शब्द हो, त्यो मेरो शब्द होइन । त्यो शब्द प्रयोग गर्ने षड्यन्त्रकारी देखियो । म त्यस्तो शब्द प्रयोग नै गर्दिन । यो पार्टीको एकता, प्रगति र सफलता हुनुपर्छ तर त्यो हुनको लागि हामी हाम्रा घोषित नीति, सिद्धान्तलाई आत्मसात गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ ।

जनार्दन शर्माले पनि के भनिरहनु भएको छ भने छिटो महाधिवेशनमा जाऔँ, पार्टी फुटे पनि, टुटे पनि, जुटे पनि, त्यहीँ हुन्छ । महाधिवेशनमा जान तपाईहरू किन डराएको त ?

कुनैपनि साथीहरूको भनाइप्रति मेरो टिप्पणी छैन । मैले छ÷सात महिना अगाडिदेखि के भन्दै आएको छु भने–यो पार्टी सदस्यताको उल्लंघन हो । पार्टीको सदस्यताको नवीकरण नगरी छलफल कसरी हुन्छ, महाधिवेशनको ? म महाधिवेशन १५ दिनभित्र, व्यवहारिक हिसाबले असोजको १५ भित्र गर्न तयार छु । तर कसरी हुन्छ ? कसले भनेर हुन्छ ? यो हिउँद महिनाको असोज, कार्तिक, मंसिरभित्र जिल्ला महाधिवेशन गर्ने, त्यसपछि प्रदेशको अधिवेशन गर्ने र जेष्ठपछि अन्तिम रूप दिने भनेका छौँ । पार्टीलाई आन्तरिक रूपमा बलियो बनाऔँ । जिम्मेवारीको कुरामा कहाँ हेरफेर गर्नुपर्ने हो, त्यतातिर पनि सोच्नुपर्छ ।

अहिलेको अवस्थामा वामदेव गौतमले अघि सारेको प्रस्तावमा तपाईहरू सकारात्मक हुनुहुन्छ ?

हामीले कुनैपनि टिप्पणी गरेका छैनौँ । मसँग पनि त प्रस्ताव छ नि, अरूसँग छैन ? त्यसकारण कुनैपनि प्रस्तावले सामुहिक रूप लिनुपर्छ नि, विधि, प्रणालीमा प्रवेश गर्नुपर्छ । त्यस्ता प्रस्तावहरू त हिजोपनि कति आए, आए तर ती सबै प्रस्तावले के सार्थकता पाए त ? यस्तो बेलामा कुनै पनि साथीहरूले यस्तो गर्दा के होला भनेकोमा विरोध गर्नुपर्ने कुरा छैन । म त्यो कुरामा कुनै पनि टिप्पणी गर्न चाहँदिन । तर त्यो सामूहिक छलफलमा आउनुपर्छ ।

सचिवालयको बैठकमा के.पी. शर्मा ओली बहुमतमा पुग्नुभयो । तपाईहरू अल्पमतमा पर्नुभएको छ । समस्याको समाधान कसरी हुन्छ, त्यो हेर्न बाँकी छ ।

हिजो वामदेव गौतमले के भन्नुभयो भने म कुनै पनि गुटमा लाग्दिन् । म स्वतन्त्र भएर यो पार्टीको एकतालाई कसरी जोगाउन सकिन्छ । यदि कोही साथीलाई बहुमत, अल्पमतको कुरा लागेको छ भने पार्टीको विधान छ, त्यसैमा गए भईगयो नि त । त्यहाँ एकदमै सिंगोरी गर्नुपर्ने केही कुरा छैन । पार्टीमा भटाभट प्रस्ताव राख्नुस्, स्थायी कमिटीमा राख्नुस्, केन्द्रीय कमिटीमा राख्नुस् । निर्णय गरेर जाऔँ । म त मान्छु त्यो कुरा । हामी जे नीति, प्रणाली, विधि लिएर अगाडि जान्छौँ । त्यसलाई कसरी हासिल गर्ने भन्नेमा ध्यान दिऔँ ।

हिजोका बैठकलाई तपाईहरू औपचारिक बैठक नै भन्नुहुन्छ त ?

हिजोको बैठक स्थायी कमिटिको पाँचौ जारी रूप हो । बैठक अहिले स्थगित गर्न उचित भएन । यो बैठकलाई निरन्तरता दिनका लागि दुई अध्यक्षले फेरि छलफल गर्ने भनेर त्यहाँ एउटा प्रस्ताव नै पारित भएको छ ।

माइन्युट नभएपछि बैठक अनौपचारिक रूपमा सकियो नि ?

हाम्रो माइन्युटमा २ पटक सही गर्ने पनि चलन छैन । बैठक नसकुञ्जेलसम्म सुरुको दिनमा जुन हस्ताक्षर गरेको हो, त्यही हस्ताक्षर कायम हुन्छ । बैठक पुस्तिकामा निर्णय हुन्छ र पछि लेख्ने चलन छ । मैले आजसम्म देखेको त्यही हो । त्यसकारण यो प्राविधिक कुरा हो । मूलभूत रूपमा यो देशलाई कसरी बलियो बनाउने, राष्ट्रको हितमा कसरी काम गर्ने भनेर यो पार्टी बनेको हुनाले अरू कुरामा ध्यान हुनुभएन । बाहिर के प्रचार हुन थाल्यो भने यो पदको झगडा भन्ने हुँदै होइन । यहाँभित्र देशका दीर्घकालीन हितको कुरा छ । सरकारलाई जनताका बीचमा कसरी लोकप्रिय बनाउने भन्ने कुरा छ । त्यता पो जानुपर्छ भन्ने मेरो जोड हो । मेरो कुप्रचार गर्ने आशय भएकाहरूबाट त्यो समाचार प्रेसित भएको हो ।

के.पी शर्मा ओलीले बैठक स्थगन गर्नुभयो । अनि तपाईहरूले बालुवाटारमा नै बसेर के.पी. शर्मा ओलीको कदमलाई असंवैधानिक भनेर कसरी भन्ने भन्नुस् ?

बालुवाटारमा १३ गते श्रावणमा बोलाइएको थियो । बैठकमा बोलाएपछि सदस्यहरू जाने नै भए त । के गल्ती भयो त ? अनि त्यहाँ जाँदा पछि किन स्थगन गरेको ? हाम्रा कार्यसूचीहरू छन् । कार्यसूचीमा जाऔँ भन्दा त्यो गल्ती हो त ? अनि पार्टी कसरी चल्छ त ? पार्टी र स्थायी कमिटिले निर्णय गरेको बमोजिम छलफल गर्नुभन्दा पार्टी फुट्नुपर्ने, विभाजन गर्नुपर्ने के कारण छ त त्यो ?

त्यसो भए हिजोको स्थायी समितिको बैठकले गरेको निर्णय के हो ?

यो पार्टीमा विधि, प्रणालीबाट फेरि बैठक सुचारु गर्नका लागि दुई अध्यक्षले छलफल गरी अगाडि बढाउने भन्ने भएको छ । त्यो त कुनै गलत कुरा छैन ।

हरिबोल गजुरेलको प्रस्ताव के थियो ?

म प्रत्येक व्यक्तिको विचारको सम्मान गर्छु । तर विचारहरू जब निर्णयको रूपमा आउँछन्, अब निर्णय जे आयो त्यही विचारको संश्लेषित रूप हो । जहाँसम्म मेरो कुरा छ, मैले नबोलेको कुरा बाहिर आएको कुराको मैले खण्डन गरेको हो ।

हरिबोलजीले प्रचण्डलाई एउटा प्रस्ताव दिनुभएको थियो । त्यो प्रस्तावमा तपाईहरू सबैको सहमति भएको भए पार्टी एक भएर अगाडि गईसक्थ्यो रे नि त ?

यो त सामुहिक निर्णयबाट मात्रै हुन्छ । किनभने यहाँ त व्यक्ति–व्यक्तिका धारणाहरू हुन सक्दछन् । कसैका दृष्टिकोणहरू फरक हुन सक्दछन् । जब छलफल हुन्छ, छलफलले जे निचोड निकाल्छ, त्यो नै साझा कुरा हुन्छ । कसैले छलफलबिना आफ्नो कुरा निर्णयको रूपमा बाहिर ल्याउँदा हामीले त्यसमा विचार दिनुपर्छ । पार्टीले सामुहिक रूपमा निर्णय गर्छ भने म त्यो कुरा मान्छु । चित्त नबुझे त्यही किसिमले असहमतिको कुरा होला । छलफल गरिदैनन् र गरिएका निर्णयहरू नेपालको हितमा छैनन् भन्ने मलाई लाग्यो म त्यसको विरोध गर्छु भनेर मैले भन्दै आएको छु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot