प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री मीन विश्वकर्माले सुनिल बहादुर थापा कांग्रेसमा प्रवेश गर्दा कांग्रेसका नेताहरूले विरोध गर्नुको कुनै अर्थ नहुने तर्क गरेका छन् । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले भनेका छन्,‘उहाँलाई राप्रपाको महामन्त्री हुनुहुन्थ्यो, हामीले सहमहामन्त्री बनाएर ल्याइराखेका छौँ भने यसमा गुनासो गर्नुपर्ने हो भने सुनिल थापाले गर्ने हो । अरूले गुनासो गर्नुपर्ने ठाउँ देखिदैँन ।’ प्रस्तुत छ नेता विश्वकर्मासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
तपाईहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापालाई नेपाली कांग्रेसमा ल्याउनुभयो र कांग्रेसको सह–महामन्त्री पनि बन्नुभयो । कांग्रेस पार्टीभित्र असन्तुष्टि ह्वात्तै बढ्यो नि ?
नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो, पहिलो, ठुलो लोकतान्त्रिक पार्टी हो । यसको मुख्य उद्देश्य भनेको मुलुकलाई लोकतान्त्रिकीकरण गर्नु हो । राप्रपाका नेता सुनिल थापाले पनि नेपाली कांग्रेसको सिद्धान्त, नीति, सांगठनिक संरचना, अनुशासन, कार्यप्रणाली स्वीकार गरेर बृहत लोकतान्त्रिक अभियानमा म समाहित हुन्छु भन्ने प्रतिबद्धता जाहेर गरिसकेपछि उहाँको योगदान, अनुभव र लगनशीलताका आधारमा कांग्रेसले उहाँलाई सहमहामन्त्री पदको सम्मान दिएर उहाँसँग आबद्ध भएका तमाम देशभरिका ४० जनाभन्दा बढी नेताहरू र हजारौँ स्थानीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । अब नेपालमा लोकतान्त्रिक पद्धतिको स्थायीत्व हुन्छ । यस्तै विचार बोकेका धेरै नेताहरू नेपाली कांग्रेसमा आकर्षित हुनुहुन्छ । नेपाली कांग्रेस पार्टी वैचारिक रूपले जसरी सम्पन्न छ, त्यसैगरी सांगठनिक रूपले मजबुत हुन्छ । नेपाली कांग्रेसमा थप ऊर्जा थपिन्छ ।
सुनिलबहादुर थापा नेपाली कांग्रेसमा आइसकेपछि महाधिवेशनमा फाइदा लिन सभापति देउवाले पद बाँडेको भन्दै रामचन्द्र पौडेलको असन्तुष्टि बाहिर आयो नि ?
नेपाली कांग्रेसको महाधिवेशनपछि आएर के अर्थ ? महाधिवेशन अघि आउँदा सदस्य प्राप्त गर्ने कुरा भयो । नेतृत्वमा प्रतिष्पर्धा गर्ने कुरा भयो । उहाँलाई पार्टीमा थपक्क बसाएर कांग्रेसको महाधिवेशनमा पनि प्रतिस्पर्धा गर्दिन र टिका लगाएर मात्र हुन्छ भन्ने भएको भए त महाधिवेशन पछि आउँदा दुःख नै गर्नुपर्दैन थियो । तर अहिले प्रतिस्पर्धा गर्नुपर्छ । उहाँले प्रतिस्पर्धा स्वीकार्नुभएको छ । महाधिवेशन भनेको सभापति छान्ने अवसरमात्र होइन । यो एउटा विशाल पर्व हो, जसले लोकतान्त्रिक विचारलाई सम्प्रेषण गर्छ । स्वागत गरिसकेपछि सम्मान पनि गर्नुपर्ने आवश्यकता हो ।
तपाईहरूको महामन्त्री पूर्णबहादुर खड्काले पनि थापालाई अहिले पार्टी प्रवेश गराएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ नि ?
हाम्रा नेताहरू वी.पी. कोइराला, गणेशमान सिंह, गिरीजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईसँग काम गरेका महान् नेताहरू हुनुहुन्छ । उहाँहरूले पनि नेपाली कांग्रेसमा थुप्रै नेताहरूलाई स्वागत गर्नुभएको छ । पार्टीको आकार घटाएर होइन बढाएर नै पार्टीको मानसम्मान बढ्छ । यो काममा थोरै केही साथीहरूको बुझाई फरक भएता पनि यो कार्य अत्यन्त सराहनीय र नेपाली कांग्रेसका लागि राम्रो छ । यो सरकारले नेपालको लोकतान्त्रिक पद्धतिप्रति आक्रमण गरेको बेला लोकतन्त्रमा रुचाउने नेताहरू अझै नेपाली कांग्रेसमा आउनुहोस् । यो पार्टीलाई राम्रो बनाउनुस् भन्ने एउटा हार्दिक अपिल नै छ ।
अहिलेको समस्याको समाधान भनेको नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न पार्टी सभापति देउवाले सक्नुभएन, गुट बनाउनु भयो अरे, बास्तविकता त्यही हो ?
कोही मानिसले घर बनाउँदै जाँदा साथीभाइहरू थपिदैँ जाँदा गुटबन्दी भएको भन्न मिल्दैन । यदि त्यसो हो भने नेतृत्वहरूलाई पार्टीमा आमन्त्रण गर्न बन्द गरे भयो । पार्टी विधेयक खिइँदै सानो हुँदै जाने र आफु ठुलो हुँदै जाने मनशाय राख्यो भने त यो मनशाय एकदमै पार्टीविपरीत हुन्छ । सभापतिले गएको निर्वाचनमा पार्टी एकदम नराम्रोसँग हारेको छ । यो पार्टीलाई ठुलो बनाउँछु । पार्टीलाई बहुमतमा ल्याउँछु भन्नुभएको छ ।
गुटको नेता भनेर शेरबहादुर देउवालाई सबैले भन्न थाले । यसपटकको महाधिवेशनमा धेरै खेलाडीहरू मैदान आउँदैछन् । पार्टी सभापतिलाई पनि हामी परास्त गर्छौँ भन्ने आवाज आईसकेको छ नि ?
यसमा कुनै हिंसात्मक युद्ध हुने होइन । कार्यशैली, विचारका आधारमा हुने स्वस्थ प्रतिस्पर्धामा जो कोहीले नेपाली कांग्रेसमा नेतृत्व गर्न सक्नुहुन्छ । महाधिवेशनका लागि विश्वास गर्नुभएको साथीहरूले हिजो अर्कै सभापति हुनुहुन्थ्यो, फेरि पनि उहाँले इच्छा व्यक्त गरेर आफ्नो परीक्षा लिन सक्नुहुन्छ । महाधिवेशनका साथीहरूले उहाँलाई पुनः मतदात गर्न पनि सक्छन्, अर्को साथी छान्न पनि सक्छन् । कोही साथी पार्टीमा लाग्नुभयो भने उहाँ त सभापति हुन लाग्नुभयो भन्ने अनि समिति पनि बनाउन नदिने अनि पार्टी ठुलो हुन्छ भन्ने हो भने यो अहिलेको समयमा पार्टी सान्दर्भिक पनि हुँदैन । त्यसैले सभापतिको भूमिका भनेको धेरैभन्दा धेरै साथीहरूलाई पार्टीमा आमन्त्रित गर्नु हो । जसले फलानो आउन हुँदैन थियो, फलानोलाई नलिएको भए हुन्थ्यो भन्नुहुन्छ भने त्यो व्यक्तिगत स्वभावमा निर्भर गर्ने कुरा हो । पार्टीको उद्देश्य र आदर्शमा होइन ।
उसो भए महाधिवेशनसम्म पार्टी एक ढिक्का भएर अगाडि जान्छ ?
महाधिवेशनमा वैचारिक छलफल गर्नका लागि पदीय कुरामा अन्य नेताहरूसँग पनि संवाद बढाउने काममा स्वयं सभापतिले दिएको निर्देशनमा उपसभापतिले काम गर्नुभएको छ । त्यसैले हाम्रो पार्टी समुन्द्र हो, यसमा धेरै खोलाहरू मिसिऊन भन्ने हाम्रो अपेक्षा छ । अनि को कहिले कतिबेला भन्ने कुरा हाम्रो इच्छामा मात्र निर्भर हुँदैन । यसमा कुन पार्टीका नेतालाई कुन परिस्थितिमा नेपाली कांग्रेसमा प्रवेश गर्न मन लाग्छ, यकिन गरेर सकिने कुरा भएन । नेपाली कांग्रेसमा प्रवेश गर्न चाहने अन्य दलका नेताहरूलाई कसरी प्रवेश गराउने भन्ने कुराको हामीसँग वैधानिक प्रावधान पनि छ । विगतको अभ्यास पनि छ । गिरीजाप्रसाद, किसुनजी सभापति हुँदा नेताहरू नेपाली कांग्रेसमा आएको कुरा स्मरण गराउन सक्छौँ । यी सबै कुराहरूलाई मिलाएर पार्टीले जुन हिसाबले स्वागत गरेको छ, त्यहाँ कहीँ कसैले चित्त दुखाउनुपर्ने कुरा छैन ।
तपाईहरूले गोविन्दराज जोशी, पुष्पनाथ ओझालाई कारबाही गर्नुभयो । सुनिल थापालाई भित्र्याउनु भयो । विवाद त सुरु भएको छ नि ?
सुनिल थापाले पार्टीको हितमा काम गर्छु भनेर अहिले आउनुभएको हो । उहाँका क्रियाकलापले भोली गएर पार्टीको हितविपरीत काम गरेका तपाई त नयाँ पो हो त भनेर पर्खिने कुरा आउँदैन । पार्टीमा पुरानै ढंगले काम गरेको र पार्टीको अनुशासन उल्लंघन गरेको हुनाले पार्टीको नियम, विधान, कार्यविधिअन्तर्गत भएको कुरा अनुशासन समितिले सर्वसम्मत निर्णय गरेको कुरालाई पार्टीमा कारबाहीमा परेका हुन् ।
जिल्ला/जिल्लामा विरोध भईरहेको छ त ?
विरोध स्वाभाविक हो । प्रतिक्रिया नहुने भन्ने केही पनि हुँदैन । जसलाई जे गरेपनि प्रतिक्रिया त स्वाभाविक रूपमा भईनै हाल्छ । प्रतिक्रिया कति जायज भन्ने हुन्छ । त्यसको पनि पार्टीले व्यवस्थापन गर्ने आफ्नै विधि छ । असन्तुष्टि जताततै हुनसक्छ । २०७४ को चुनावमा उहाँहरूबाट भएको अनुशासन उल्लंघनबारेमा पनि व्यापक चर्चा भएर उजुरी नै परेपछि पार्टीले एउटा निर्णय लिएको हो । त्यसैगरी यस्तो कारबाही देशभरि हुनुपर्छ । जसले बदमासी गरेका छन्, सबैलाई हुनुपर्छ भन्ने आवाज छ । यो आवाजमा म पनि आवाज मिसाउँदै भन्छु, अनुशासन उल्लंघन गर्ने जो कोहीलाई पार्टीले नीति, साइत हेरेर बस्नुहुँदैन ।
धेरै मानिसहरूमा कांग्रेसमा भित्र्याउनुस तर विधिवत रूपमा ल्याउनुस् भन्नेपनि ग्रास लेभलबाट आवाज उठेको छ नि ? के भन्नुहुन्छ ?
विधिसम्मत् नै हा्े । विधानले व्यवस्था गरेअनुसार ल्याउने हो । नेपाली कांग्रेसमा यत्तिकै बाहिरबाट ल्याउने भनेर कार्यसमितिमा हाम्रो पनि छैन, अरू पार्टीको पनि छैन । आयोगमा त्यसलाई मान्यता दिदैँन । अरू पार्टीबाट ल्याउँदा समान हैसियत दिने भन्ने हाम्रो परम्परा छ । उहाँलाई राप्रपाको महामन्त्री हुनुहुन्थ्यो, हामीले सहमहामन्त्री बनाएर ल्याइराखेका छौँ भने यसमा गुनासो गर्नुपर्ने हो भने सुनिल थापाले गर्ने हो । अरूले गुनासो गर्नुपर्ने ठाउँ देखिदैँन । FILE PHOTO