Logo

दाहाल-नेपाल पक्षका १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गर्दै बुझाए हस्ताक्षर



काठमाडौं, १४ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर एक सय ५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी मुख्यालयमा हस्ताक्षर बुझाएका छन् । आज (बुधबार) अपरान्ह पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई आफूहरुले हस्ताक्षर बुझाएको केन्द्रीय सदस्य जग्गनाथ खतिवडाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

पार्टीमा पछिल्लो समय विवाद बढ्दै गएको तर सचिवालय र स्थायी समितिले त्यसको समाधान निकाल्न नसकेकाले आफूहरुले केन्द्रीय कमिटी बैठकको माग गरेको उनको भनाई छ । नेकपाको विधानअनुसार २५ प्रतिशत अर्थात् १११ जना सदस्यले हस्ताक्षर गरि केन्द्रीय समिति बैठक माग गरे महिना दिनभित्र बैठक बोलाउनु पर्छ।

नेकपाको स्थायी कमिटी बैठक गत असार १० गतेदेखि सुरु भएको हो । तर, उक्त बैठकमा अधिकांश सदस्यहरुले केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए । र, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएका छन् । हिजो (मंगलबार) ओलीले एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित् गरेको तर दाहाल–नेपाल समूहले बहुमत सदस्यहरुको उपस्थितिमा बैठक राखेपछि विवाद नयाँ मोडमा पुगेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्