Logo

आइसोलेसन र शव व्यवस्थापनमा खटिएका १० सैनिक सङ्क्रमित



जलेश्वर, १५ साउन । कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका महोत्तरीका दश नेपाली सैनिक र दुई शिक्षक कोरोना सङ्क्रमित हुनुभएको छ ।

स्वास्थ्य कार्यालय, महोत्तरीका कोभिड १९ का फोकलपर्सन गिरेन्द्रकुमार झाले जिल्लामा पछिल्लो पटक आएको पीसीआर रिपोर्टमा १३ जनामा कोरोना सङ्क्रमित देखिएको बताउनुभएको छ । त्यसमा १० जना सैनिक, दुई जना शिक्षक तथा एक जना सर्वसाधारण रहेको जानकारी उहाँले दिनुभयो ।

केही दिनअघि मात्रै जिल्लामा महोत्तरी गाउँपालिका वडानं। ३ मा एक व्यक्तिको कोरोनाबाट धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका तथा पिपरा नगरपालिकामा रहेको आइसोलेसनमा खटिएका नेपाली सेना कोरोना सङ्क्रमित देखिएको फोकल पर्सन झाले जानकारी दिनुभयो । नेपाली सेनालाई किसान नगरमा रहेको मध्यपृतनामा राखिएको छ ।

त्यसैगरी, जिल्लामा दुई शिक्षक पनि कोरोना सङ्क्रमित हुनुभएको छ । एकजना माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । उहाँ केही दिनअघि मात्रै वीरगञ्जबाट आउनुभएको थियो भने अर्का शिक्षक सिन्धुपाल्चोकबाट आउनुभएको फोकल पर्सन झाले जानकारी दिनुभयो ।

त्यस्तै, भारतबाट आएका बलवाका एक जनामा समेत कोरोना पोजिटिभ देखिएको बताउँदै फोकलपर्सन झाले भन्नुभयो, ‘योसहित अहिलेसम्म जिल्लामा ८५९ जना कोरोना पोजिटिभ देखिएका छन् ।’

कोरोनाबाट मृत्यु भएका महोत्तरी गाउँपालिका वडानं। ३ मा कन्टयाक्ट ट्रेसिङ गर्दा मृतकका श्रीमती र छोरासहित सात जना कोरोना पोजिटिभ फेला परेको जानकारी उहाँले दिनुभयो । यहाँ ४२ जनामा गरिएको परीक्षणमा सात जनामा कोरोना पोजिटिभ देखिएको सो वडामा एक हप्ताको लागि औषधी पसलबाहेक सम्पूर्ण पसल, हाटबजार बन्द गरिएको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्