Logo

पाठ्यपुस्तक लेख्न पूर्वस्वीकृति अनिवार्य



काठमाडौं, साउन १५ । माध्यमिक तहको कक्षा ११ र १२ मा जथाभावी पाठ्यपुस्तक लेख्ने प्रवृत्तिलाई यसै वर्षबाट कडाइका साथ नियन्त्रण गरिने भएको छ । लेखकले पाठ्यपुस्तक लेखेर सीधै बजारमा पठाउने विगतको प्रचलनले पुस्तक गुणस्तरहीन हुनुका साथै पाठ्यक्रमलाई समेत समेट्न नसकेको पाइएपछि यसलाई कडाइका साथ नियन्त्रण गरिने भएको हो ।

अब कक्षा ११ र १२ का सबै पाठ्यपुुस्तक पाठ्यक्रम विकास केन्द्रमा पूर्वस्वीकृतिका लागि पेस गर्नुपर्ने र सूचीकरण गरिएपछि मात्रै प्रकाशन गर्न पाइने प्रावधान यसै वर्षबाट कार्यान्वयनमा ल्याइने भएको छ । केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले लेखकले पुस्तक तयार पारेपछि स्वीकृतिका लागि पेस गर्नुपर्ने र स्वीकृति दिएपछि प्रकाशनको अनुमति दिइने जानकारी दिए ।
कक्षा ११ मा यसै पटकबाट नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी निर्णयसँगै हालसम्म पाठ्यपुस्तक लेखकले १५० वटा पुस्तक सूचीकृत गर्नका लागि पेस गरेको जानकारी उनले बताए । नेपाली, अङ्ग्रेजी र सामाजिक तथा जीवनोपयोगी पुस्तकशिक्षा गरी तीनवटा विषयका पुस्तक प्रकाशन सरकारी स्तरबाटै हुनेछ । अन्य ऐच्छिक विषयको प्रकाशन भने सरकारले नगर्ने भएको छ ।

यसरी पेस गरिएका पाठ्यपुस्तकमा प्रयोग गरिएको भाषाशैली, विषयवस्तु, पाठ्यक्रमलाई अनुसरण गरे-नगरेको लगायतका आधारमा विज्ञहरूको टोलीबाट त्यसको मापन गरिने भएको छ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद् मातहतमा दस जोड दुई तहको कक्षा सञ्चालन हुँदा लेखकले आफूखुसी पुस्तक प्रकाशन गर्ने र त्यसलाई नै विद्यार्थीले प्रयोग गर्ने गरिएको थियो तर अब कक्षा १२ सम्म विद्यालय तह मानिएका कारण पाठ्यपुस्तकलाई पनि सोही अनुसार नै व्यवस्थापन गर्न लागिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्