Logo

सुन काण्डमा नयाँ ट्विस्ट: तीन जना पक्राउ, घटनास्थल परिवर्तन



काठमाडौं, साउन १५ । महानगरीय प्रहरी दरवारमार्ग वृत्तले १४ किलो चाँदी र आधा किलो सुन बरामद गरेको घटनाले नयाँ मोड लिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा भएको छानविनमा प्रहरीले नै घटनास्थल परिवर्तन गरेर माथिल्लो निकायलाई भ्रममा राखेको पाइएको छ ।

गत मंगलबार कमलादीमा भएको भनिएको घटनालाई अहिले सिसी टिभी फूटेजमार्फत अध्ययन गर्दा घट्नास्थल सुन्धरामा भएको पत्ता लागेको हो । बरामद भएको सुन मध्ये आधा किलो मात्रै सक्कली भएको र बाँकी सुन नभई धातुनै भएको प्रहरीको निश्कर्ष छ । प्रहरीले उक्त घटनामा दुई थान पेस्तोल र म्याग्जीनसमेत बरामत गरेको बताउँदै आएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई समेत नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार महानगरीय प्रहरी अपराध महाशाखको टोलीले बुधबार राति पूर्वी नवलपरासीको दुम्कीवासबाट उनीहरुलाई पक्राउ गरेर आज विहान काठमाडौ ल्याइसकेको छ । पक्राउ परेकाहरुले स्कार्पियो काठमाडौंमै छाडेर नवलपरासीको दुम्कीबास पुगेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको स्रोतको दावी छ । पक्राउ पर्नेमा निलेश सखिया, विजय पटेल र देवान सिंह छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौले गत मंगलबार गरेको पत्रकार सम्मेलनमा १४ किलो चाँदी कमलादीस्थित नविल बैक नजिकबाट बरामद भएको जनाएको थियो।

दरबारमार्ग वृत्तका डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कार्पियो बाट सुनसहितको ब्याग फालेर भागेको मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

हाल उक्त घटनालाई अध्ययन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखालाई छानवीन गर्ने जिम्मा लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot