साउन १५, काठमाण्डौ । पछिल्ला दिनमा काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । जोखिम बढेपछि सरकारले काठमाडौं प्रवेश गर्ने नाकामा स्वाब संकलन गरेर परिक्षण सुरु गरेको छ ।
केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नागढुंगा, फर्पिङ र साँगा नाकामा उक्त स्वाब संकलन गरिएको थियो ।
संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ ।
गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशनाकामा यात्र आवागमनमा रोक लगाएको हो ।
नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको छ ।
उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ ।