Logo

नेकपा विवादमा मन्त्रीमाथि नैतिक प्रश्‍न, प्रधानमन्त्री पनि जिम्मेवार



काठमाडौँ, १६ साउन । केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने र यही प्रश्न सत्तारुढ नेकपाको आन्तरिक विवादको केन्द्रमा छ । र, यसैमा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पार्टी बहसमा सहभागी छन् । मन्त्रीको नैतिकताको प्रश्नसँगै प्रधानमन्त्री ओलीको भूमिकामाथि पनि उत्तिकै प्रश्न छन् ।

बहसमा मात्र होइन सरकारलाई निरन्तरता दिने र ढाल्ने समूहमा उनीहरु उत्तिकै सक्रिय छन् । प्रधानमन्त्री ओली समूह यही सरकारको निरन्तरतामा छ र सरकारको काममाथि चित्त नबुझाएको अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीको राजीनामाको मागमा छ ।

मन्त्रीकै हैसियतमा झन्डासहितको गाडीमा दैनिक सिंहदरबार आवतजावत, पुल्चोकस्थित सरकारी निवासको बसाई र महत्वपूर्ण निर्णय हुने मन्त्रिपरिषद् बैठकमा सहभागिता जनाउने मन्त्रीहरु नै सरकार ढाल्ने समूहमा सक्रिय भएकोमा नेकपाभित्र अनौठो मानिएको छ । प्रश्न त्यसरी उठ्यो–जब सोमबार र मंगलबारका केही बैठकमा स्थायी कमिटी सदस्य रहेका मन्त्रीहरु सहभागी भए ।

सोमबार अध्यक्ष दाहाल निवासमा भएको छलफलमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहभागी थिए । दाहाल–नेपाल समूहका नेताहरुको यो बैठकले मंगलबार स्थायी कमिटी बसाल्ने निर्णय लिएको थियो । यसबाहेक यो बैठकले मंगलबार बैठक चलाउने, नियमित एजेन्डामा छलफल गर्ने, त्यसबीचमा सहमतिका लागि प्रधानमन्त्री ओलीसँग संवाद गर्ने र सहमति नभए निर्देशन दिने योजना पनि बनेको थियो ।

तर, मंगलबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले एकतर्फीरुपमा स्थायी कमिटी बैठक स्थगित गरेका थिए । त्यसपछि दाहाल–नेपाल समूहका नेताहरुको बैठक बालुवाटारमै बसेको थियो । बैठकमा उर्जामन्त्री पुन, शिक्षामन्त्री पोखरेलबाहेक कृषि तथा पशुपंक्षी विकासमन्त्री धनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई र वन तथा वातावरण मन्त्री शक्ति बस्नेत सहभागी भएको खबर आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्