Logo

पार्टी फुट्दैन, म ओली क्याम्पमा गएको भन्ने कुरा विल्कुल गलत : टोपबहादुर रायमाझी



सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका छन् । उनले पार्टी अब एकताबद्ध भएर अघि बढ्ने विश्वास दिलाए । उनले आफूले क्याम्प परिवर्तन गरेको भन्ने कुरा विल्कुल गलत भएको पनि दाबी गरेका छन् । नेताहरूबीच सहमति हुने पनि उनले विश्वास व्यक्त गरेका छन् । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्ताव पार्टी एकताबद्ध बनाउने अवसरको रुपमा आएको पनि दाबी गरे । प्रस्तुत छ नेता रायमाझीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल कम्युनिष्ट पार्टी फुट्छ कि फुट्दैन ?

फुट्दैन ।

तर, नेताहरूको बीचमा आरोप–प्रत्यारोप जारी छ ? कसरी एकताबद्ध हुन्छ ?

अब जे हुन्छ, पार्टी एकताबद्ध हुन्छ । पार्टी र सरकारलाई एक बनाएर अगाडि लैजाने कुरामा कुनै द्विविधा हुँदैन ।

वामदेव गौतमले हिजो एउटा तर्क गर्नुभएको छ–अल्पमत र बहुमतबाट अघि बढे नेपाल कम्युनिष्ट पार्टी फुट्न सक्छ भनेर ? तपाई के भन्नुहुन्छ ?

हो, हामीले सुरुदेखि नै भनिरहेका छौँ कि पार्टी एकता गर्दाखेरि हामीले एउटा मान्यता बनाएका छौँ । दुई अध्यक्ष प्रणाली हुने र जति पनि हामीले निर्णयहरू गर्छौँ, सहमतिबाट गर्नेर्छौँ । महाधिवेशन पनि सहमतिबाट गर्नेर्छौँ भन्ने निर्णय भएको हुनाले वास्तवमा हामी बहुमतीय र अल्पमतीय प्रणालीबाट जान मिल्दैन । त्यसकारणले वामदेव गौतमले ६ बुँदे प्रस्ताव ल्याउनुभएको छ, त्यो महत्वपूर्ण अवसर हो । पार्टीलाई एकताबद्ध गर्ने, विवादमुक्त बनाउने अवसरहरूमध्ये एउटा महत्वपूर्ण अवसरको रूपमा लिएका छौँ ।

नेताहरूको घरमा भीड छ । प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतम निवासमा । तपाईहरू किन पार्टी कार्यालयमा छलफल र बैठक गर्नुहुन्न ? नेताका घरघरमा गुटको बैठक बसेर समस्याको समाधान हुन्छ ?

पार्टीको विवाद अन्त्य गर्नका लागि जहाँ/जहाँ बसेपनि त्यो अन्तरविरोधको हल र समाधान खोज्नको लागि त्यसलाई नकार्न हुँदैन । पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर जहाँ/जहाँ बस्छौँ, त्यसले महत्वपूर्ण भूमिका खेल्छ भन्ने लागेको छ ।

केपी शर्मा ओली र प्रचण्डको मन मिलेन नि ?

हरेक पार्टी, समाजमा अन्तरविरोध हुन्छ । हामीले अन्तरविरोधको हल खोज्नुपर्दछ । अन्तरविरोध उत्कर्षमा पुग्यो । आफ्नो स्थितिको बारेमा पनि जानकारी भयो । विवाद कहाँ हो र समाधान कसरी गर्नुपर्छ भन्ने कुराको पनि मोटामोटी जानकारी भएको छ । हामी अब समाधानको दिशातिर अगाडि जानुपर्छ । हाम्रा पार्टीका नेताहरू ठुलाठुला गुटबाट गुज्रिएर आएका नेताहरू हुनुहुन्छ । यो अन्तर्विरोध नेताहरूमा देखापरेको छ । यसमा कुनै शंका छैन ।

समस्या, जटिलता छ । पार्टी फुट्दैन र प्रचण्ड ब्याक हुनुहुन्छ त तपाईहरूले भनिरहनु भएको छ । दुबै पदमा प्रधानमन्त्रीलाई यथावत राखिन्छ, अहिले उहाँलाई हटाईनुहुँदैन भनेरपनि तपाईहरुले भन्दै आउनुभएको छ, अब के गर्ने ? विकल्प के हो ?

मैले त्यस्तो कहीँ पनि भनेको छैन । हामीले जे सहमति गरेका छौँ, त्यसलाई हामीले पालना गर्नुपर्दछ । एक व्यक्ति एक पद हुने कि ? अथवा के हुने भन्ने कुराको हाम्रो पार्टीभित्र थुप्रै्र प्रस्तावहरू आएका छन् । अब हामी निष्कर्षको नजिक पुगिसकेका छौँ । त्यो निष्कर्ष अब छिटोभन्दा छिटो बाहिर आउँछ ।

तपाईले पनि त क्याम्प परिवर्तन गर्नुभयो नि त । प्रचण्ड क्याम्पबाट तपाई के.पी. शर्मा ओलीको क्याम्पमा पुग्नुभयो अरे ?

विल्कुल गलत हो ।

कसरी गलत हुन्छ । तपाई प्रचण्डको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकमा नगएको होइन, बालुवाटारमा ?

बैठकमा नजानु भनेको क्याम्प परिवर्तन गर्नु होइन । कुनैपनि गुट, क्याम्पको मान्यताबाट म मुक्त छु । कुनैपनि गुट, क्याम्पको राजनीति हामीले गर्नुहुँदैन । हामीले पूर्वसमुह नेकपा माओवादी केन्द्र र नेकपा एमाले केन्द्रलाई एक प्रकारले विघटन गरेर नेपाल कम्युनिष्ट पार्टी निर्माण गरिसक्यौँ । त्यसकारण गुट, क्याम्पको कुरा मैले नगर्ने भएको हुनाले क्याम्प परिवर्तन गर्ने कुरा होइन । जहाँसम्म बैठकमा जाने/नजाने कुरा आयो, पहिला हेडक्वार्टरबाट सूचना आयो कि बैठक स्थगित् भयो भन्ने, त्यसकारणले पछि बैठक स्थगित् भयो भनेपछि म बाटोमा जाने क्रममा थिएँ, म फर्किएँ । मेरो अर्को काम के हो, त्यसपछि म अर्को कामतिर लागेँ । पछि हेर्दा एउटा क्याम्पले बैठक गरेको थाहा पाइयो र अर्को क्याम्पले फेरि बोलायो, म धेरै टाढा पुगिसकेको थिएँ । त्यसकारणले म त्यहाँ नगएको स्थिति हो । पछि बैठक हो कि भेला हो, त्यो समापन हुने स्थिति आईसकेको थियो । त्यसैले म क्याम्पमा विश्वास गर्दिनँ ।

यतिखेर १३ दिनदेखि ईनफ इज ईनफ अभियानका युवाहरु अनशनमा छन्, सुन्दैन सरकार । आजदेखि बालुवाटारमा फर्कदैँछन्, युवाहरू । तपाई के भन्नुहुन्छ ?

त्यो त विभिन्न किसिमका गतिविधिहरू कसैले सडकमा गएर संघर्ष गर्ने, कसैले हस्ताक्षर गर्ने सबै चीजहरू त्यति राम्रो हो जस्तो मलाई लाग्दैन । त्यताबाट समस्याको समाधान खोज्नुहुँदैन । हामीले संवाद, वार्ता र छलफलबाट नै समाधान खोज्नुपर्छ । हामी सहमतिको निकट क्षेत्रको पुगेको जस्तो मलाई लाग्दछ । अब कसैले पनि नेकपालाई फुटाउने गर्छ जस्तो मलाई लाग्दैन । कसैले पनि नेकपालाई फुटाउने नेतृत्वतर्फ लाग्छ जस्तो मलाई लाग्दैन ।

त्यसो भए अब स्थायी समितिको बैठक कहिले बस्छ त ?

अब मुख्य गरी २ अध्यक्षहरूले सल्लाह गर्नुहुन्छ, छलफल गर्दै जाँदा कति हामी एकताको निकटमा पुग्छौँ भन्ने कुराको मूल्याकंन हुन्छ । सहमतिको विषयमा छलफल हुन्छ । अनुकुल वातावरणमा मलाई लाग्छ, बैठकको आयोजना गरिन्छ ।

तर अहिलेको अवस्थामा बैठक नहुँदाखेरि अन्यौलमा छन् नेकपाका नेता तथा कार्यकर्ताहरू ? केन्द्रिय समितिको बैठकको माग भएको छ, तपाई हुनुहुन्छ कि हुनुहुँदैन त्यो पक्षमा ?

माग गर्ने त पहिला सचिवालयको माग भयो, स्थायी कमिटिको माग भयो । केन्द्रिय कमिटिको माग गर्ने पनि अधिकार छ । पछि त्यस विषयमा पनि छलफल हुन्छ । अब महाधिवेशनमा जानुपर्छ भन्ने कुराहरू पनि छन् । हाम्रो छलफल हुन्छ । जे आवश्यक हुन्छ, पार्टीले त्यो गर्छ ।



प्रतिक्रिया दिनुहोस्