वीरगञ्ज, १६ साउन । वीरगञ्ज कोरोना भाइरसको हटस्पट बन्न पुगेको छ । देशभरका महानगरपालिकामध्ये विगतमा कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित देखिएको वीरगञ्ज सबैभन्दा बढी संक्रमितको मृत्यु भएको नगरमा पर्छ । अहिलेसम्म वीरगञ्जका दश जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । जसमध्ये नौं जनाको विगत नौं दिनमा मृत्यु भएको हो ।
देशभर हालसम्म ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोमा दश जना वीरगञ्जसँग सम्बन्धित घटना हो । वीरगञ्जमा पहिलो मृत्यु २८ जेठमा भएको हो । बेवारिशी शव फेला परी स्वाब परीक्षण गर्दा संक्रमण पत्ता लागेको थियो ।
यसैगरी, विगत नौं दिनमा कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये आठ जनाको पर्सामा र एकजनाको ललितपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण
१. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा बेवारिसी लास फेला परेकोमा पोष्टमार्टमका लागि लगिएको । स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको छ । ३० जेठमा संक्रमण पत्ता लागेको र ३१ जेठमा स्वास्थ्य मन्त्रालयले मृत्युबारे जानकारी दिएको
२. पर्साको वीरगञ्ज महानगरपालिका माइस्थानका ७० वर्षीय पुरुष । ७ साउनमा नारायणी अस्पतालमा मृत्यु । ८ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
३. पर्साको वीरगञ्ज महानगरपालिका ११ की ८५ वर्षीया महिला । मुटुरोगी उनी निमोनिया भएपछि अस्पताल भर्ना भएकी थिइन् । ९ साउनमा मृत्यु भई स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका ६५ वर्षीय पुरुष, ११ साउन गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको । मुटु तथा मधुमेहका रोगी । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५. पर्साको वीरगञ्जका ७० वर्षीय पुरुषको १४ साउनमा मृत्यु । मुटु तथा मृगौलाको समस्या भई ८ साउनमा नारायणी अस्पतालमा भर्ना भई उपचार भइरहेकोमा १४ साउनमा निधन भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६. पर्साको वीरगञ्जका ६८ वर्षीय पुरुषको १४ साउनमा मृत्यु । ७ साउनमा कोरोना पुष्टि भएको । मृगौलाको समस्या हुँदै आएका उनी झाडापखालाको उपचारका लागि निजी अस्पतालमा जाँच गराई १३ गते नारायणी अस्पताल पुगेको । आइसीयुमा राख्न नसकेपछि नेस्नल मेडिकल कलेजमा भर्ना भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ५६ वर्षीय पुरुषको १५ साउनको राति निधन भएको । मुटुको रोगी उनको आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिएको । ६ साउनमा कोरोना पुष्टि भएपछि ७ साउनमा गण्डक अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको । मृत्युका समयमा अक्सिजनको कमी भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
८. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय पुरुषको गण्डक अस्थायी अस्पतालमा १५ साउना निधन । ५ साउनमा निजी क्लिनिक हुँदै तराई अस्पतालमा भर्ना भएका । १३ साउनमा स्वास्थ्यमा निकै समस्या आएपछि परीक्षणका क्रममा १५ साउनमा कोरोना पुष्टि भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
९. पर्सा जिल्ला वीरगञ्ज को छपकैयामा बस्दै आएका ६५ वर्षका पुरुषको १५ साउनको विहान निधन भएको । मृत्युपश्चात् दिउँसा स्वाव परीक्षण हुँदा कोरोना पुष्टि भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१०. पर्सा जिल्ला वीरगञ्ज ११ घर भई थलिखेल ललितपुर बस्ने वर्ष ६५ की महिलाको पाटन अस्पतालमा १६ साउनमा मृत्यु भएको । मधुमेह तथा प्रेसरको विरामी ६ साउनमा पाटन अस्पतालमा भर्ना भएकी । ज्वरो खोकीलगायत स्वास्थ्यमा समस्या भई उपचारको लागि स्टार अस्पतालमा भर्ना भएकी उनको ६ साउनमा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा रेफर गरिएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको