प्रभात सिंहः विश्वभर कोरोना भाइरसको महामारी चलिरहँदा खोपको विकासको प्रतिष्पर्धा चलिरहेको छ । मानव अस्तित्वका लागि खोपको महत्व छँदैछ । योसँगै यसबाट खरबौं डलर आम्दानी गर्ने योजनामा शक्तिशाली देश र तिनका कम्पनिहरु सक्रिय भएका छन् ।
खोपको विकासका लागि हजारौं वैज्ञानिकहरु सक्रिय भएका छन् । न्युयोर्क टाइम्सका अनुसार चीनमा मात्र हजारभन्दा बढी वैज्ञानिक कोरोनाविरुद्धको खोप विकासमा अहोरात्र सक्रिय छन् । चीनले खोपको विकासमा सैन्यकरण गरेको टिप्पणीहरु पनि भइरहेको छ ।
कोरोनाविरुद्धको खोपको विकासमा अहिलेसम्म चारवटा कम्पनि अग्रपंक्तिमा छन् । ती कम्पनिमा रुस, अमेरिका, युरोपका मुख्य हुन् । चीनले पनि गोप्य तरिकाले खोपको विकास गरिरहेको छ । उसले अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीमा खोपको प्रयोग थालिसकेको छ ।
सँसारभर २५ प्रतिष्पर्धी कम्पनिले भ्याक्सिनको मानव परीक्षण शुरु गरिसक्दा पाँचवटाले दोस्रो चरणको परीक्षण गरको छन् । एक सय ३९ वटा कम्पनि प्रिक्लिनिकल परीक्षणको अवस्थामा छन् । सबैभन्दा अग्रपंक्तिमा रहेका खोप निमार्तामा रुसको गामेलिया, युरोपको अक्सफोर्ड आस्ट्राजेनेका, अमेरिकाको मोर्डना र पिफिजर छन् ।
खोपको विकासका लागि रिसर्चका लागि मात्र अरबौं डलर खर्च भइरहेको छ । विश्वका धनाढ्यमध्येका बिल गेट्सले पनि खोपको विकासमा चाहिने धनराशी खर्च गरिरहेका छन् । धनी र शक्तिशाली देशहरुले अरबौं डलर खन्याइरहेका छन् । उनीहरु यसको परिणाम देखेरै लगानी गरिरहेका छन् ।
अमेरिकाको पिफिजर कम्पनिले खोपको विकासमा निकै आशा राखेको छ । उसले अरबौं डलर धनराशी कमाउने योजना समेत बनाएको छ । १० करोड डोज भ्याक्सिनवापत् उसले झण्डै दुई अर्ब डलर कमाउने हिसाब निकालेको छ । प्रति डोज भ्याक्सिनको २० डलरसम्ममा उपलब्ध गराउन सकिने पिफिजरको निष्कर्ष छ ।
अमेरिकाको मोर्डना कम्पनि पनि भ्याक्सिन विकासमा ढुक्क छ । उसले पनि अरबौं डलर आम्दानीको योजना बनाएको छ । १० करोड डोज भ्याक्सिन तयार गर्दा मोर्डनाले ५ अर्ब डलर कमाउने आँकलन गरिएको छ । उसले प्रति डोज भ्याक्सिनको ५० डलर मुल्य राख्नसक्ने जनाइएको छ ।
खोप निर्माता कम्पनिहरुले परीक्षण गरिरहँदा बजार समेतमा ध्यान दिन थालिसकेका छन् । रुसी, अमेरिकी र युरोपेली कम्पनिहरुको ध्यान विश्व बजारमा पनि रहेको छ । विश्वको अरबौं जनसंख्याका लागि भ्याक्सिनको बजार लिन सके खरबौं डलर आम्दानी हुनसक्छ ।
विश्वको सात अर्ब जनसंख्यालाई भ्याक्सिन पुर्याउने र भ्याक्सिनको एक डोजको २० डलरको मात्र हिसाब हुने हो भने एक अर्ब ४० अर्ब डलर हुनआउँछ । प्रतिडोज ५० डलर मुल्य राखिए झण्डै तीन खर्ब डलर हुनआउँछ ।
कोरोनाविरुद्धको खोप विकास गर्ने कम्पनिले अरबौं डलर आम्दानी गर्ने निश्चित छ । ती कम्पनिहरुले विश्वको तीन खर्ब डलरभन्दा ठुलो आम्दानी हुने खोप बजारमा नियन्त्रण कायम गर्न सक्छन् ।
खोपको विकास गर्दैमा बजार नियन्त्रण गरिहाल्न सजिलो भने छैन । यसमा पहुँच, शक्ति र बजार व्यवस्थापनको भुमिका मुख्य हुन्छ । अमेरिका, रुस, चीन, युरोपेली मुलुक र भारतसँग मात्र त्यस्तो सामथ्र्य देखिन्छ ।
भ्याक्सिन विकासमा को को अगाडि
रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा बाजी मार्ने दाबी प्रस्तुत गरिसकेको छ । उसले खोप विकास अन्तिम चरणमा पुर्याएर अर्को महिनाको मध्यसम्ममा अनुमति लिएर प्रयोगमा ल्याउँदैछ । सार्वजनिक प्रयोगमा अगष्टको अन्त या सेप्टेम्बरसम्म ल्याउने भएको छ । दोस्रो चरणको परीक्षणमा रहेपनि यसले तेस्रो चरणको परीक्षण छिट्टै गर्ने र प्रयोगमा ल्याउने भएको हो ।
अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको भ्याक्सिन बाँदरमा परीक्षण गर्दा प्रभावकारी देखिएको छ । आस्ट्राजेनेकासँग मिलेर अक्सफोर्डले विकास गरिरहेको भ्याक्सिनले बाँदरमा कोरोना संक्रमण रोकथाम गरेको छ ।
नेचर जर्नलका अनुसार भ्याक्सिन बाँदरमा प्रभावकारी पाइएको छ । नेचर जर्नलमै प्रकाशित अर्को अनुसन्धानमुलक लेखले जोन्सन एन्ड जोन्सले विकास गरिरहेको भ्याक्सिन पनि प्रभावकारी पाइएको जनाएको छ ।
दुई दिन अघि अमेरिकाको मोर्डना थेरापेटिक्सले जनावरमा परीक्षणबारे खुलाएको थियो । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा अनुसन्धानमुलक लेखमार्फत् रिपोर्ट सार्वजनिक गरिएको छ । यसले पनि बाँदरमा भएको परीक्षण प्रभावकारी रहेको जनाएको छ । मोर्डनाले तेस्रो चरणको मानवमा परीक्षण शुरु गरेको छ ।
चीनले कोरोनाविरुद्धको खोप विकास गरिरहँदा अग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाएर परीक्षण शुरु गर्ने खुलाएको छ । चीनका केही औषधी कम्पनिहरु खोप विकासमा अगंपंक्तिमा छन् ।
भारतीय कम्पनिहरु पनि कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् । उनीहरु पनि पहिलो र दोस्रो चरणको परीक्षणका क्रममा छन् । पुणेस्थित भारतको चर्चित खोप निर्माता कम्पनि सेरम अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर खोपको विकास गरिरहेको छ ।
अष्ट्रेलिया, थाइल्यान्डका अलावा युरोपका कतिपय देशहरु पनि कोरोनाविरुद्धको भ्याक्सिन विकासमा सक्रिय भएका छन् । सबैको आ आफ्नो बजार नियन्त्रण गर्ने गरी योजना देखिन्छ ।-एजेन्सीको सहयोगमा