Logo

आम नागरिकले सावधानी नअपनाउँदा पर्सामा यो अवस्था आएको हो : एसपी पन्त



पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले पछिल्लो समय कोरोना परीक्षणको दायरा बढेसँगै पोजेटिभ केशहरुपनि देखिन थालेको बताएकी छिन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै एसपी पन्तले भनिन्,‘विरामीको व्यवस्थापनको लागि अहिले एउटा भेन्टिलेरको व्यवस्था गरिएको छ । त्यसमा नभएकाहरूलाई सेमी आइसोलेसन छ । अहिले संख्या बढिराख्दाखेरि जसको घरमा हुन्छ, त्यहाँ होम आइसोलेसन गराएका छौँ ।’ प्रस्तुत छ पत्रकार धमलाले एसपी पन्तसँग गरेको कुराकानीको सम्पादित अंश :

के छ हालखबर वीरगञ्जको ? कोरोना संक्रमणको संख्या ह्वात्तै बढ्यो नि, वास्तविकता के हो ?

परीक्षणको दायरा पनि बढेको छ । त्यही अनुसार पोजिटिभ केशहरू पनि बढेको छ ।

परीक्षण पनि तीव्र गतिमा भईरहेको छ ? समस्या छ कि छैन ? विरामीहरूको व्यवस्थापन कहाँ गरिरहनु भएको छ ?

विरामी व्यवस्थापन गर्ने हाम्रो काम त होइन ।

होइन तपाईहरू त शान्ति सुरक्षा पनि दिईरहनु भएको छ । तपाईहरू समन्वय गर्नुहुन्छ नि त ? सँगै बस्नुहुन्छ, कुराकानी गर्नुहुन्छ ? कोरोनाको संक्रमणबाट बचाउनुछ मुलुकलाई ? पर्सा भयावह स्थितिमा जाँदैछ भनेर धेरैले भनेका छन् । वास्तविकता के छ ?

विरामीको व्यवस्थापनको लागि अहिले एउटा भेन्टिलेरको व्यवस्था गरिएको छ । त्यसमा नभएकाहरूलाई सेमी आइसोलेसन छ । अहिले संख्या बढिराख्दाखेरि जसको घरमा हुन्छ, त्यहाँ होम आइसोलेसन गराएका छौँ ।

त्यसो भए अहिले विरामीहरू राख्नको लागि सबै भेन्टिलेटरहरू छन् ?

पर्याप्त मात्रामा त छैन । तैपनि म्यानेजिएबल नै छ अहिलेको अवस्था ।

डाक्टरहरूले काम गर्नुभएको छ ? समस्या छ कि छैन ?

हाम्रो विशेषगरी कोरोना व्यवस्थापनको लागि सरकारी हस्पिटल छ, नारायणी हस्पिटल, त्यहाँ सम्पूर्ण टिमले राम्रो काम गरिरहेका छन् । तर अहिले संक्रमण फैलिरहेको अवस्थामा व्यक्तिहरूलाई कोरोना पोजिटिभ हुनसक्छ भनेर हेर्नुपर्ने अवस्था हो । केही प्राइभेट हस्पिटलहरूमा विरामीलाई लग्न सहज छैन किनकि उक्त हस्पिटलहरूमा पि.सि.आर टेस्ट भइसकेको व्यक्तिहरूको रिपोर्ट आउन ढिला हुने, पि.सि.आर गरेको ७÷८ घण्टापछि मात्र रिपोर्ट आउने हुन्छ । त्यसैले प्राइभेट हस्पिटलहरूमा पि.सि.आर रिपोर्ट आइसकेपछि मात्र उपचार गर्छौँ भन्ने भएकोले असजिलो छ । त्यो बाहेक डाक्टरले काम नै नगरेको भन्ने अवस्था होइन ।

काठमाडौँबाट पनि डाक्टरहरू वीरगञ्ज जान तयार छैनन् ?

त्यो त मलाई थाहा भएन । अहिले यहाँ जति डाक्टरहरू हुनुहुन्छ, उहाँले काम गरिरहनुभएको छ । अहिलेसम्म सरकारी हस्पिटलबाहेक अरूबाट काम भएको मैले अलि कम नै देखेको छु ।

त्यसो भए उपचार नपाएर विरामीहरू छटपटाएका छैनन् त्यहाँ ? समस्यामा छैनन् ?

कहिलेकाँही पि.सि.आर. रिपोर्टलाई कुर्दाखेरि त्यति धेरै समस्या छैनजस्तो लाग्छ मलाई । यस विषयमा तपाईले हाम्रो आधिकारीक व्यक्ति नारायणी हस्पिटलको निर्देशन लिनुभयो भने बढी जानकारी पाउनुहोला । मैले बुझेको जे छ मैले भनिदिईसकेको छु ।

लापरबाहीको कारणले गर्दाखेरि पर्सामा कोरोना संक्रमण भयावह बन्दैछ भनेर धेरैले भनेका छन् । सीमाक्षेत्र रक्सौलबाट आवतजावत भईरहेको छ ?

रक्सौल नाका पूर्ण रूपमा बन्द छ । जहाँ खुल्ला बोर्डर छ, त्यो ठाउँमा कतिपय बेलामा यो इन्डियामा टेकिएका छ कि नेपालमा टेकिएको छ भनेर थाहा हुँदैन । इन्डियाको क्षेत्रमा मानिसको दैनिकीसँग जोडिएका सरसामानहरू सस्तो पाइने भएको हुँदा वारीको मान्छे पारी जाने प्रचलन छ, नभएको होइन । कतिको जिविकोपार्जन पनि लामो समयदेखि पारीको सामान लिएर आएर भएको पनि देखिन्छ । त्यसकारणले मान्छे जाने/आउने नै छैन भन्नसक्ने अवस्था छैन । तैपनि हामीले सक्दो प्रयास गरेको अवस्था हो ।

लकडाउन खुकुलो भएपछि पारीबाट लुकिछिपी भित्रिएका कामदारबाट कोरोना संक्रमण फैलिएको छ भन्ने कुरा आएको छ । वास्तविकता के हो ?

पछिल्लो समयमा हेर्दाखेरि पक्कैपनि संक्रमणको अवस्था छ । विशेषगरी त्यसमा आउजाउ गर्ने व्यक्तिबाट नै भएको हो । त्यसमा कुनै शंका छैन । अर्को कुरा हामीले एकदम कडा गर्न नसक्ने क्षेत्र के हो भने अत्यावश्यक खाद्यान्न पदार्थहरूको दैनिक आपूर्ति हुन्छ, कम्तिमा गाडी नै नचलेको अवस्थामा पनि ४००/५०० को संख्यामा बोर्डरबाट आवतजावत गरेका छन् । यसको मतलब कम्तिमा पनि १००० भन्दा ठुलो संख्यामा व्यक्तिहरू आवतजावत गर्ने, विशेषगरी सवारीसाधनको कुरा गरेको मैले, त्यो संख्या आफैमा पनि निकै धेरै छ । जिल्ला नाका जोडिएको विहारमा संक्रमणको संख्या असाध्यै बढी छ । त्यसको प्रभाव त स्वत: पर्ने नै भयो । लकडाउन कडा भएका दिनहरूमा सीमाक्षेत्र पूर्ण रूपले बन्द थियो । त्यस समयमा पनि सप्लाई चेन मार्फत मैले दिएको संख्या आवतजावत गर्ने संख्या हो । कोरोना महामारीको हिसाबमा यो नेपालको लागि ठुलो चुनौती हो ।

रोकथामका लागि हामी किन कडाईका साथ जान सकेनौँ ? प्रदेश सरकारले पनि त्यतातिर ध्यान नदिएको हो कि ?

केन्द्र, प्रदेश सरकार, सुरक्षाकर्मीहरूले त्यसमा ध्यान दिएको अवस्था छ । लकडाउनको समयमा जिल्लाभित्र नेपाल प्रहरीले ठुलो मेहनत गरेको छ । बोर्डर क्षेत्रमा प्रहरीको संख्या पर्याप्त मात्रामा छैन । पक्कै पनि बोर्डर नाकाको सुरक्षाको जिम्मेवारी लिएको अर्को सुरक्षा निकाय त्यहाँ छ । मान्छेको भेषभूषा र संस्कृति पनि उस्तै देखिने भएकोले हामीले भनेजस्तै ठ्याक्कै नियन्त्रण गर्न सक्ने अवस्था छैन ।

त्यसो भए भारतबाट कामदारहरू आइरहेको कारणले संक्रमण बढ्यो पर्सामा ?

विशेषगरी पर्सा र बाराको सीमानामा औद्योगिक क्षेत्र छ । संक्रमण फैल्याउन त एउटा उद्योगको ५ जना व्यक्ति आयो भने त्यो पर्याप्त हुन्छ, संक्रमण फैल्याउन । बोर्डर नाकामा भएका नागरिकहरूलाई सुरक्षाकर्मीको सहयोग ज्यादै कम हुन्छ । कतिपय स्थानीयवासीहरू खुल्ला सीमाको फाइदा लिएर तस्करीमा संलग्न हुने व्यक्तिहरू जहाँ सुरक्षा फौजबाट उहाँहरूको पेशालाई असर गर्छ । हेर्दा उस्तै देखिने घर जोडिएको ठाउँहरूमा त्यो हामीले नियन्त्रण गर्ने अवस्था नै कम छ ।

आम जनताले सावधानी अपनाएका छन् ?

पर्सामा त निषेधाज्ञा जारी गरेको अवस्था छ । अहिले मान्छेको मुभमेन्ट पनि बढी भयो । अहिले ठुलो संख्यामा सवारीसाधनहरू बढेको अवस्था पनि छ । लकडाउन भनेको सरकारको लागि गरिदिएको जस्तो गरेर भन्ने व्यक्तिहरू पनि ठुलो संख्यामा देखियो । सावधानी नअपनाइएकै कारणले जताततै यो स्थिति आएको हो । यसलाई आमनागरिकले सावधानी नगरेको कारणले नै यो अवस्था आएको हो ।

त्यसो भए मास्क लगाउनेहरू पनि छन्, नलगाउनेहरू पनि छन् ?

मास्क त पकेटमा राखे पनि प्रहरीलाई देखाउनका लागि लगाउने गरेका छन् । सुरक्षाकर्मीलाई देखाउनका लागि मास्क लगाउने जमात यो पर्सामा मात्र होइन चारैतिर छ । यो समस्याको विषय हो वास्तवमा । File Photo



प्रतिक्रिया दिनुहोस्