काठमाडौं, साउन १८ । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ । संक्रमितको बढ्दो संख्यालाई लिएर चिकित्सकले पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।
हाल काठमाडौं उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, स्टार अस्पताल र त्रिवि शिक्षण अस्पतालमा संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १५ जना संक्रमित आइसियूमा उपचाररत छन् ।
काठमाडौं उपत्यकामा पछिल्ला तीन दिनमा ८९ जना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या ५ सय ८९ पुगेको छ । काठमाडौंमा ४ सय २९, ललितपुरमा ९६ र भक्तपुरमा ५७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको उमेर समूह १६–५५ वर्ष रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ हजार ५ सय ९५ ओटा आइसियू बेड र ९ सय ओटा भेन्टिलेटर छन् । यस्तै, ३ हजार ७६ आइसोलेसन बेड र २६ हजार ९ सय ३० वटा हस्पिटल बेड रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उपत्यकाका अस्पतालमा ३ सय २ आइसियू बेड छन् । कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारले उपत्यकामा १ सय २० आइसियू बेड थप गर्ने निर्णय गरेको थियो ।
लक्षणसहितका संक्रमित धमाधम भेटिए सरकारसँग धान्ने संरचना छैन ।राजधानी दैनिकबाट