Logo

नेपालमा तत्काल लगातारको झरी हुन्न, खण्ड खण्ड झरी पर्छ



काठमाडौँ, १८ साउन । अबको केही दिन लगातारको झरी भने नहुने भएको छ । यद्यपि अहिले मुलुकभर नै मौसम बदली छ । छोटो समयका लागि खण्डखण्डमा भने मध्यम र भारी वर्षा हुने मौसमविद्को भनाइ छ । यसबीचमा नेपालको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ ।

जल तथा मौसम विज्ञान विभागले अहिले पनि मुलुकभर नै मौसम बदली रहेको र ठाउँठाउँमा वर्षा भइरहेको जनाएको छ । तर बेलाबेलामा सामान्यदेखि चर्को घाम पनि लाग्छ । अबको तीन दिन विगतमा जस्तो लगातारको झरी भने नहुने विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि नै पर्याप्त पानी परेकाले जमिन गलेको हुँदा थोरै पानीले पनि धेरै क्षति गर्न सक्नेतर्फ भने सचेत हुनुपर्ने हुन्छ । यस्तो अवस्थामा पहिराको जोखिम बढी हुन्छ । खण्डखण्डमा भारी वर्षा हुँदा केही ठाउँमा पहिरो खसेर जनधनको क्षति गराएको छ ।

उहाँले अहिले मनसुन न्यूनचापीय रेखा नेपालबाट दक्षिण सरे पनि नेपाल नजिक नै रहेको बताउनुभयो । भोलि र पर्सी अझै केही नजिक आउने हुँदा तराईका क्षेत्रमा वर्षा थपिने सम्भावना छ । देशका अधिकांश क्षेत्रमा बेलाबेलामा घाम लाग्ने र मध्यमखालको वर्षा हुने अर्यालले जानकारी दिनुभयो । प्रदेश १, २, ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षको सम्भावना कायमै छ । आजभन्दा भोलि र पर्सी भने थोरै बढी वर्षा हुने भए पनि लगातारको झरी नहुने अर्यालले बताउनुभयो । यसअघि असार २५ देखि ३० गते र साउन ४ देखि ६ गतेसम्म लगातार वर्षा भएको थियो । उक्त वर्षापछि आएको बाढी, पहिरो र डुवानले मुलुकका अधिकाँश क्षेत्र प्रभावित बनाएको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्