Logo

चोरीका आरोपितको कुटपिटले मृत्युः १४ पक्राउ



रोल्पा, १८ साउन । रोल्पामा चोरी गरेको आरोपमा कुटपिट गर्दा शनिबार एक पुरुषको मृत्यु भएको छ। रुन्टिगढी गाउँपालिका–६ का २८ वर्षीय ईश्वर बस्नेतको मृत्यु भएको हो। छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कदै गर्दा शुक्रबार साँझ ७ बजे ईश्वरले लुटेको आरोपमा कुटपिट हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जनाए।

 

आरोपित बस्नेतले पाँच हजार र घडी लुटेको टेकबहादुरले बताएका छन्। उनले घर आएर परिवार र छिमेकीसँग आफ्नो पैसा र घडी बस्नेतले लुटेको बताएका थिए। मध्ये रातमा लुटिएका आफन्त र गाउँले आरोपित बस्नेतको घर पुगेका थिए। घर घेराउ गरेका बेला आरोपित बस्नेत भाग्न खोजेपछि गाउँलेले समातेर कुटपिट गरेको बताइएको छ।

इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज प्रहरी निरीक्षक लेखनाथ चापागाईंका अनुसार कुटपिटमै संलग्नले बस्नेतलाई डुब्रीङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार गर्न लगेका थिए। स्वास्थ्यकर्मीले दाङ रेफर गरेपछि थप उपचारमा लाने क्रममा शनिबार बिहान मृत्यु भएको हो। घटनाको सूचना लगत्तै प्रहरी घटनास्थल पुगेको थियो। कुटपिटमा संलग्न रहेको आशंका गरिएका १४ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ गुरुङले बताए।

मारिएका बस्नेतले बेलाबेला गाउँमा चोरी गर्दै आएको गाउँलेले आरोप लगाएका छन्। कुटपिटपछि भएको मृत्यु घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्