सिन्धुपाल्चोक, १८ साउन। विद्युत् प्राधिकरणको ड्याम, नहर र भीषण वर्षाका कारण त्रिपुरासुन्दरी गाउँपालिका–३, ड्याम साइडका १६ घर भासिएर उच्च जोखिममा परेका छन् । जमिन भासिएसँगै बस्तीमा जोडिएको टाउके खेत, पाखोबारी र जङ्गल बगिसकेको छ ।
उक्त बस्तीका कृष्णमान श्रेष्ठले बस्ती उच्च जोखिमा परेपछि विस्थापित हुनु परेको बताउनुभयो । रातको समयमा १६ घरपरिवारका सय जनाभन्दा बढी विद्युत् प्राधिकरणको ट्रसमा त्रिपालले बारेर बस्दै आएका छन् । बस्तीमाथिको खेतबारी र वन जङ्गल गरी ७० रोपनी जमिन चिराचिरा परेर दुई मिटरको गहिराइसम्म फाटेको श्रेष्ठले जानकारी दिनुभयो । जमिन भासिने र फाट्ने भएपछि उक्त खेतबारीमा स्थानीयले बाली लगाउन छाडेका छन् ।
नेपाल विद्युत् प्राधिकरण सुनकोसी जलविद्युत् आयोजनाले सोही बस्तीमुनि ड्याम र नहर बनाएपछि बस्ती भासिएको स्थानीय श्रेष्ठले जानकारी दिनुभयो । चार पुस्ताभन्दा बढी समयदेखि बसोबास गरेका बस्ती भासिएपछि स्थानीयवासीलाई कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउन थालेको छ । २०७१ सालको भीषण जुरे पहिरोले पनि उक्त बस्ती जोखिममा परेको थियो । अहिले पनि बस्तीमाथि रहेको टेकानपुर–तौथली सडकको पानीको भेल ठेकेदारले ह्युमपाइप राखेर बस्तीमाथिबाटै झारिदिएपछि सो बस्ती झन् बढी जोखिममा रहेको स्थानीय शिवराम श्रेष्ठले दुखेसो गर्नुभयो । त्यसैगरी, ओरियन्ट म्याग्नेसाइडको रोप वे टावर ढल्न लाग्दा पनि उक्त बस्ती थप खतरामा परेको छ ।
नेपाल विद्युत् प्राधिकरण सुनकोसी जलविद्युत् आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय सबैलाई बस्ती उच्च जोखिममा रहेको जानकारी गराउँदा पनि बस्ती स्थानान्तरणका लागि चासो नदिएको स्थानीयले जनाएका छन् । सुरक्षित स्थानमा बस्न चाहेका तर कसैले सुरक्षित स्थानमा लगेर राख्ने काम नगरिदिएको स्थानीय राजकुमार श्रेष्ठले दुखेसो गर्नुभयो । बस्ती भासिनु र फाटिनुमा विद्युत् प्राधिकरणको ड्याम र नहर मुख्य कारण भएकोले बस्ती नै प्राधिकरणले अधिग्रहण गर्नुपर्ने स्थानीयले बताएका छन् । यसबारे सुनकोसी जलविद्युत् आयोजनाका प्रमुख गीरबहादुर केसीले भूगर्भविदहरूले उक्त बस्तीको अध्ययन गरेको जानकारी दिएको खबर आजको गोरखापत्रले छापेको छ ।