काठमाडौं, १८ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता भर्खरै सम्पन्न भएको हो । असार १३ गतेदेखि दुई अध्यक्षबीच सम्वाद टुटेको थियो । स्थायी कमिटीको बैठक ओलीले एकलौटी रुपमा स्थगित् गरेको भन्दै दाहाल रुष्ट छन् ।
उक्त भेटवार्तामा बरिष्ठ नेता झलनाथ खनालपनि सहभागी थिए । खनालले आजको भेटवार्तामा ठोस सहमति नभएको स्पष्ट पारे । तर, पछिल्लो समय देखिएको सम्वादहिनताको गाँठो भने आजको छलफलपछि फुकेको जिकिर गरे । उनले भने,‘दुवै पक्ष लचिलो भएर जानेबारे कुराकानी भयो । ओलीजीले अहिले सचिवालय राखौं भन्नुभयो, उहाँले स्थायी कमिटी बैठक राख्न मान्नुभएन । तर, हामीले स्थायी कमिटीको बैठक राखेर जानुपर्छ भनेका छौं । फेरि पनि वार्ता गर्ने सहमति भएको छ ।’ file photo