साउन १८, काठमाण्डौ । विवादमा परेको पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाबारे थप छलफल हुने भएको छ । गुरुयोजनाले प्राचीनता मास्ने, व्यापरिक स्वास्र्थ पूरा गर्ने र आस्थामाथि आघात पुग्ने भन्दै स्थानीयले आन्दोलन गरेपछि सरकारले छलफलका लागि कार्यदल गठन गरेको हो ।
आइतबार सिंहदरबारमा गुरुयोजनाको विरोधमा रहेकाहरुसहितको टोलीसंग छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गुरुयोजनाका बारेमा थप छलफल गर्न मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको जानकारी दिएका हुन् । कार्यदलमा मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कमलप्रसाद भट्टराई र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम रहेका छन् ।
कार्यदललाई एकमहिनाको समय दिइएको र एकमहिनासम्म उक्त गुरुयोजनालाई यथास्थीतीमा राखिने मन्त्री भट्टराईले जानकारी दिए । कार्यदलले पुरातत्वविद, संस्कृतिविद, स्थानीय बासिन्दा, सम्पदा तथा संरक्षणकर्मी, इतिहासविदसहितसँग छलफल गरेर प्रतिवेदन बुझाउने छ ।
मन्त्री भट्टराईले प्राचीनता तथा पुरातत्वमाथि कुनै असर पर्न नदिने गरि गुरुयोजना अघि बढाउने बताए । उनले पशुपति क्षेत्रमा मनाइने जात्रा पर्व सञ्चालन गर्न पनि अक्षयकोष खडा गर्ने प्रस्ताव राखेका थिए ।
छलफलमा सोही क्षेत्रका संघीय सांसद गगन थापाले गुरुयोजनाको नाममा स्थानीय संस्कृति मास्न नहुने धारणा राखे । उनले अहिलेको अवस्थामा सरकारले अघि सारेको गुरुयोजना स्वीकार्य नहुने बताए ।
पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहितको छलफलमा बस्दा आफ्नो अपमान हुने भन्दै आन्दोलन गर्ने स्थानीयहरुले भने मन्त्री भट्टराईलाई ज्ञापन पत्र बुझाएर बाहिरिएपछि जनप्रतिनिधीमात्र सहभागी भएका थिए । स्थानीयहरुले सरकारले अघि सारेको गुरुयोजनाले प्राचीनता मास्ने, व्यापरिक स्वास्र्थ पूरा गर्ने र आस्थामाथि आघात पुग्ने भन्दै आन्दोलन गर्दै आएका छन् ।