Logo

लकडाउन खुकुलो होस सतर्कता होइन, लापरवाही जारी रहे भयावह हुने



काठमाडौँ, १९ साउन । गत साता वीरगञ्ज नाका भएर २१ जना भारतीय कामदार निर्माण कार्यका लागि ओखलढुङ्गामा ल्याइए । वीरगञ्जबाट निर्बाध प्रवेश गरेका उनीहरूको प्रदेश १ को विराटनगरमा स्वाब सङ्कलन गरी परीक्षण गरियो । भारतबाट नेपाल प्रवेश गरेको २१ जनामध्ये १८ जना कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि भएको छ । हाल उनीहरू गोठगाउँमा आइसोलेसनमा छन् ।

नेपाल र भारतमा दैनिक रुपमा करिब एक हजार व्यक्ति सीमा ओहोरदोहोर गर्दैआएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गृह मन्त्रालयको तथ्याङ्कबमोजिम बिहीबार मात्रै ५०६ जना नेपालबाट भारत गएको र ६५९ जना भारतबाट नेपाल प्रवेश गरेको जनाएको छ । भारतसँग जोडिएको चार राज्य उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल र उत्तराखण्डमा दैनिक रुपमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लकडाउन खुकुलो भएपनि स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दैआएको छ । मन्त्रालयले घरबाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने निर्देशिकासमेत जारी गरेको छ तर बढ्दो सङ्क्रमणबीच मास्क नलगाएका करिब दुई लाख व्यक्तिलाई कारबाही गरिएको छ ।

वीरगञ्जमा पछिल्लो समय २८ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार वीरगञ्जमा आठ चिकित्सक, छ नर्सिङ्ग स्टाफ र १२ पारामेडिक्ससहित २८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार आवश्यक सतर्कता नअपनाउँदा स्वास्थ्यकर्मीसमेत ठूलो सङ्ख्यामा सङ्क्रमित हुन पुगेका छन् ।

यी चारवटै प्रतिनिधिमूलक घटना मात्रै हुन् । साउन लागेपछि करिब तीन प्रतिशत रहेको सङ्क्रमणदर हाल करिब चार प्रतिशत पुगेको छ । कुलमा सङ्क्रमण दर ५।३ प्रतिशत पुगेको हो । स्वास्थ्य विज्ञको सुझाव तथा मन्त्रालयले सतर्कता अपनाउन जारी गरेको निर्देशिका गिज्याउन यी घटनाहरू पर्याप्त भएको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्