Logo

प्रहरीमा कोरोना संक्रमण बढ्यो, ३ सय १३ ट्राफिक प्रहरी क्वारेन्टाइनमा



काठमाडौं, १९ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना का प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालसहित ३ सय १३ जनालाई कार्यालयभित्रै क्वारेन्टाइनमा राखिएको छ । उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै सबै प्रहरीलाई बग्गीखानाभित्रै राखिएको हो । अहिले बग्गीखानालाई सिल गरिएको छ । उनीहरु करिब ५ दिनसम्म क्वारेन्टाइनमा रहनेछन् ।

पीसीआर परीक्षण गरेपछि नेगेटिभ देखिए मात्र नियमित डिउटीमा पठाउने तयारी महाशाखाले गरेको छ । प्रमुखसहित यति धेरै संख्यामा ट्राफिक प्रहरी क्वारेन्टाइनमा बसेपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या आउने बताइएको छ । कोरोना देखिएका दुई जना प्रहरीलाई अस्पताल लगिएको छ भने बाँकी प्रहरी आफ्नै कार्यकक्ष र कोही ब्यारेकमा बसेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक एसपी वामदेव गौतमले दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि एसएसपी ढकालसहित ३ सय १३ जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेका प्रमुख ढकालसहितको उच्च अधिकारीले बग्गीखानाबाटै उपत्यको ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिइरहेका छन् । एसएसपी ढकालले बाहिर जान नमिले पनि कार्यालयबाट उपत्यकाका सबै मातहतका निकायलाई निर्देशन दिइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न जिम्मेवारी पाएका सबैले काम गरिरहेका छन् । महाशाखा महातहमा १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । ३ सय १३ जना क्वारेन्टाइनमा बसेपछि उपत्यकामा करिब १ हजार २ सय जना नियमित डिउटीमा खटिरहेका छन् ।’ एसएपसी ढकालले उपत्यकामा ट्राफिक प्रहरीको कमी हुन नदिन सवारीको चाप बढी भएको ठाउँमा कम चाप हुने स्थानमा खटिएका ट्राफिकलाई खटाउन शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो समयमा सडकमा ट्राफिक प्रहरीको कुनै कमी हुन दिनेछैनौं, सचेत भएर सबै स्थानमा खटाउने छौं ।’

बग्गीखानाभित्रै कोराना संक्रमित भेटिएपछि महाशाखाले उपत्यकाका सबै ट्राफिक प्रहरीलाई सावधानी अपनाउन निर्देशन दिएको छ । प्रवक्ता गौतमले भन्नुभयो– ‘नियमित चेकजाँच गर्दा करिब दुई मिटर टाढा बस्ने मापसे परीक्षण गर्दा टाढैबाट सोधखोज गर्ने अनिवार्य रुपमा पन्जा, फेस सेफ र मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न निर्देशन दिइसकेका छौं ।’ यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot