Logo

डुङ्गा रोकिए, एक करोडको मेसिन बिग्रियो, जलकुम्भी जस्ताको तस्तै



पोखरा, २० साउन । पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको भीडभाड हुन्थ्यो तर कोरोनाका कारण पोखरा सुनसान छ । पोखाराकै परिचय बनेको फेवाताललाई यतिबेला जलकुम्भी झारले ढपक्कै ढाकेको छ । अविरल वर्षा पानीको वेगसँगै अँधेरी खोला, हर्पन खोला, लौरुक खोला, बेतयानी खोलाको मुहानबाट आएको बाढीसँगै जलकुम्भी फेवातालमा आउने गर्छ । कोरोना महामारीका कारण यतिबेला ढुङ्गगा चलेका छैनन् । तालमा राखिएका ढुङ्गगा समेतलाई जलकुम्भीले ढाकेको छ । गत वर्ष पनि तालमा अत्यधिक जलकुम्भी झारले ताललाई कुरुप बनाउँदा पोखरा महानगरपालिकाले ताल सरसरफाइका लागि अग्रता देखाएको थियो ।

पोखरा महानगरपालिकाका मेयर उपमेयरलगायतको १३ सदस्यीय समितिले फेवताल सरसफाइलाई अभियानका रुपमा झार निकाल्ने काम भएको थियो । अभियानमा पोखरा विभिन्न सङ्घसंस्था पर्यटन व्यवसायीलगायतले साथ दिएका थिए ।

महानगरपालिकाका उपमेयर मञ्जु गुरुङले लकडाउनको समयमा जलकुम्भी निकाल्न जलारीहलाई ज्यालामा काममा लगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लकडाउनको समयमा जलारीलाई राहत होला भनेर काममा लगायौँ, ताल सफा पनि भयो र उनीहरूले काम पनि पाए, अब बाँकी जलकुम्भी हटाउने विषयमा कुनै निर्णय भएको छैन ।”

फेवा हर्पन मत्स्य सहकारी संस्थाका अध्यक्ष ईन्द्रबहादुर जलारीले फेवातालमा पानीको सतहसँगै बर्सेनि जलकुम्भी झार तालको माथिल्लो क्षेत्रमा रहेको सीमसार क्षेत्रबाट बाढीसँगै बगेर फेवातालमा आउने गरेको बताउनुहुन्छ ।

फेवातालमा वर्षौंदेखि जलकुम्भीसँगै अर्को बन्दा झार पनि उत्तिकै आउने गरेको जलारी बताउनुहुन्छ । “झारले डुङ्गा चलाउन समस्या गर्छ, झारमा जाल अड्किने, च्यातिने हुन्छ । जलकुम्भी झारले ताललाई कुरुप बनाउनेसँगै माछालाई पनि असर गर्ने हाम्रो पेशा पनि सङ्कटमा पर्छ ।” उहाँले बन्दाबन्दीको समयमा महानगरले पाँच लाख बराबर रकमको जलकुम्भी फाल्ने काम लगाएको बताउनुभयो । “२० लाखमा सकिने जति काम छ । पाँच लाखले मात्र सबै झार सकिएन् जति लगायो त्यति गरियो ।” यो खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्