Logo

सप्तरीमा आजदेखि सात दिने निषेधाज्ञा जारी



राजविराज, साउन २०। जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले आज बिहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले बैठकपछि जारी गरेको निषेधाज्ञामा हालसम्म ५३१ जना सङ्क्रमितको सङ्ख्या पुगेको र सङ्क्रमितमध्ये राजविराज नगरपालिकामा एक जनाको मृत्युसमेत भइसकेको अवस्थामा सजगता अपनाउन, सङ्क्रमणको विस्तार रोक्न, तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरू आवश्यक रहेको भन्दै कोभिड–१९ को सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियनत्रणको लागि अत्यावश्यक कार्यबाहेक कार्य नगर्न निषेधाज्ञा आदेश जारी गरिएको बताएका थिए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरसहित जिल्लाभरि निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, सप्तरीको निषेधज्ञा आदेशमा भनिएको छ ।

निषेधाज्ञा आदेशमा औषधि पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा र मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैङ्किङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवारस्थलहरूमा अनावश्यक आवतजावत, हिँडडुल नगर्नरनगराउन भनिएको छ ।

आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने व्यहोरा सूचित गर्दै उल्लेखित सेवाअन्तर्गतका कार्यहरूसमेत तोकिए बमोजिमका स्वास्थ्य सुरक्षा सतर्कतासम्बन्धी मापदण्डहरूको पूर्ण पालना हुने गरी मात्र गर्न गराउन सचेत गराइएको छ ।



प्रतिक्रिया दिनुहोस्