काठमाडौं, साउन २० । नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट अतिप्रभावित व्यवसायलाई २० प्रतिशतसम्म कर्जा थप गर्दा त्यस्तो पैसाबाट ब्याज लिन नपाइने व्यवस्था गरेको छ। गत वैशाख १६ मा राष्ट्र बैंकले १० प्रतिशत कर्जा यसरी नै थप गर्न सक्ने सुविधा दिएपछि पर्याप्त धितो भएका ऋणीको नाममा बैंकले आफूखुसी कर्जा थपेर ब्याज असुल्न थालेका थिए।
डुब्न लागेको व्यवसायलाई चालु पुँजी दिएर पुनरोत्थान गर्न दिइएको पैसा बैंकले ऋण असुल्न प्रयोग गरेको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकका एक अधिकारी बताउँछन्।
१२ साउनमा राष्ट्र बैंकले यस्तो व्यवस्था गर्नु अघिसम्म वैशाख १६ कै व्यवस्था कार्यान्वयनमा थियो। यसअघि अहिलेजस्तो अतिप्रभावित व्यवसायलाई मात्रै यस्तो सुविधा दिने व्यवस्था नभएकाले धेरै ऋणीको खातामा थप कर्जा दिएर बैंकले आफूखुसी ब्याज असुलेका थिए।
बैंक र ऋणी दुवैको मिलेमतोमा हुने यस्तो अभ्यासलाई बैंकिङमा ‘इभर ग्रिनिङ’ अर्थात् कृत्रिम रूपमा असल देखाउने पद्धति भन्ने गरिएको छ। अहिले बैंकले एकतर्फी रूपमा यस्तो काम गर्दै आएको पाइएपछि रोक लगाएको राष्ट्र बैंकका अधिकारीले बताएका छन्।
उनका अनुसार बैंकको यस्तो व्यवहारले साना ऋणीको व्यवसाय धरासायी भएको गुनासो आएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।