काठमाडौं, साउन २०। राष्ट्रिय सभाका विषयगत समिति सभापति चयनको निर्वाचन साउन २३ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्देशनअनुसार सचिव राजेन्द्र फुयालले सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरेका छन् । प्रकाशित कार्यतालिका अनुसार २३ गते दिनको १ बजे निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा नियमावली अनुसार समितिको कार्यावधि दुई वर्षको हुने व्यवस्था छ । दुई वर्ष पूरा भएसँगै समिति पुनः गठित भएका हुन् । शनिबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समिति पुनः गठन गरेका थिए । शुक्रबार समितिहरूको दुई वर्षे कार्यकाल पूरा भएको थियो ।
प्रकाशित निर्वाचन कार्यतालिका अनुसार साउन २२ गते बिहान ११ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । मनोनयन राष्ट्रिय सभा सचिवको कार्यकक्ष सिंहदरबारमै हुनेछ । दर्ता भएको उम्मेदवारको अन्तिम नामावली २२ गते नै अपराह्न सार्वजनिक हुनेछ ।गोरखापत्र दैनिकबाट