पाँचथर, साउन २० । अधिक वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ ।
आइतबार रातिदेखि सोमबार दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फिदिम–फालोट सडकको फिदिम–नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ । बाढीका कारण २५ मिटर लम्बाइको पुलको पश्चिमपट्टिको जमिनको क्षेत्रमा क्षय हुँदा पुल जोखिममा परेको हो । मुख्य पिलर पछाडिको जमिन आधाभन्दा बढी भत्किएपछि पुल जोखिममा परेको हो ।
बाढीले उक्त पुल आसपासको क्षेत्र तथा फिदिम नगरपालिका–१ को मालबाँसेका विभिन्न स्थानमा पहिरो जाँदा फिदिम–फालोट सडक अवरुद्ध भएको छ । नगरपालिकाले पहिरो पन्छाउने प्रयास जारी राखेको छ ।
यस्तै फिदिम–७ मा पर्ने नाम्दु खोल्सामा पहिरो जाँदा फिदिम–रानीटार–लुङरुपा सडक अवरुद्ध बनेको छ । यहाँ पनि नगरपालिकाले स्थानीयवासीको सहयोगमा सडक खुलाउने प्रयास जारी राखेको छ ।
फेमे खोलामा आएको बाढीले फिदिममै पर्ने तीन वटा साना जलविद्युत् आयोजनामा क्षति पु¥याएको छ । बाढीले आयोजनाको पाइपलाइन बगाउँदा तीन वटै आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । बाढीले फेमे खोलाको तटीय क्षेत्रमा रहेको आयोजनाको पाइपलाइन बगाएको हो ।
बाढीबाट फेमे खोला साना जलविद्युत् आयोजना र बिके हाइड्रोपावरका दुई वटा आयोजनामा क्षति पुगेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।
बाढीले यी आयोजनाको करीब ७० मिटर पाइपलाइन बगाउनुका साथै कजवेमा क्षति पु¥याएको छ । क्षति भएका आयोजनामध्ये फेमे खोला साना जलविद्युत् आयोजना ९९८ किलोवाट तथा बिके हाइड्रोपावरका १५० र २४० किलोवाट विद्युत् उत्पादन बन्द भएको हो ।
बाढीले फिदिम नगरपालिका वडा नं। १, ७ र ११ मा पर्ने फेमे खोलाको तटीय क्षेत्रका केही घर जोखिममा पर्नुका साथै धान खेती र अलैँची बगानहरुमा क्षति पु¥याएको छ । फिदिम–११ का नवराज न्यौपानेका अनुसार बाढीबाट २० जनाभन्दा बढी स्थानीयको खेत तथा अलैँची बगानमा क्षति पुगेको छ ।
बाढीले तटीय क्षेत्रमा कटान गर्नुका साथै केही खेत तथा अलैँची बगान पुरेको छ । दर्जनौँ स्थानीयको खेतबारीमा क्षति पुगेपनि क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रनाउ न्यौपानेले बताए । प्रहरीले बाढी तथा पहिरोको जोखिममा रहेका परिवारहरुलाई सुरक्षित स्थानमा सर्न आह्वान गरेको छ ।
कतिपय स्थानमा प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सक्रियतामा जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने कामसमेत शुरु भएको प्रनाउ न्यौपानेले जानकारी दिए । रासस