Logo

सरकारको विरोध गर्ने र मान्छे भड्काउने काम भईरहेको छः प्रधानमन्त्री ओली



काठमाडौंं, साउन २१। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपालीको परीक्षण गरी प्रमाणित भएपछिमात्र घर पठाइने बताएका छन् । बाहिरबाट आउनेहरु आफै पनि जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार विज्ञहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

अहिलेको कोरोना संकट सल्टाउन सबैको भूमिका अनिवार्य रहने भएपनि सरकारको मात्र विरोध गर्ने र मान्छे भड्काउने काम उचित नरहेको उनले बताए । “भयाभह स्थिति छँदैछ, सीमाबाट मान्छे स्वस्फूर्तरुपमा आउन दिने हो भने झन अवस्था विग्रन्छ” प्रधानमन्त्री ओलीले भने, “आउन दिने हो तर परीक्षण गरेर मात्र घर पठाउनुपर्छ, त्यसमा नागरिकले सहयोग गर्नुपर्छ ।

“जनताको जीवनभन्दा ठूलो कुरा केही होइन, हामी सबै त्यसमा केन्द्रित भएर अगाडि बढ्न जरुरी छ” प्रधानमन्त्री ओलीले भने, “कोभिड १९ को संयुक्त लडाईमा हरेक देशबासीले आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यक छ ।”

कोरोना विरुद्ध ज्यान जोखिममा राखेर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा स्वयम्सेवकले भूमिका निर्वाह गरिरहेको भन्दै उनले प्रसंशासमेत गर्न भ्याएका छन्।

सरकारले २५ भन्दा बढी व्यक्तिलाई एक ठाउँमा जम्मा हुन नदिने भनेको भएपनि पार्टीभित्रै त्यसको अवमूल्यन भइरहेको उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्