Logo

मन्त्रालयको ताकेता स्थानीय तहद्वारा आलटाल



काठमाडौं, साउन २१ । संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई चालू आर्थिक वर्षमा पेस भएको बजेट विवरण पठाउन पटकपटक ताकेता गरे पनि त्यस्तो विवरण पठाउन आलटाल गरेको पाइएको छ ।

मन्त्रालयले बजेट विवरण पठाउन हालसम्म तीनपटक पत्राचार गरिसकेको छ । मन्त्रालयले गत असार ७, श्रावण ४ गते ताकेता पत्रमार्फत नगरपालिका, गाउँपालिकाको लागि पेस भएको बजेट विवरण पठाउन तोकता गरिएकोमा हालसम्म त्यस्तो विवरण नपठाइएको भन्दै मन्त्रालयले पुनः ताकेता गरेको छ ।

‘हालसम्म पनि माग भएबमोजिम बजेट मन्त्रालयको बेभसाइट प्रविष्ट नगरिएको भन्दै मन्त्रालयले त्यस्तो विवरण अविलम्ब पेस गर्न’ मन्त्रालयको स्थानीय समन्वय शाखाका अधिकृत जनकराज शर्माले पठाएको पत्रमा भनिएको छ ।

अहिले सम्म १ सय ५१ स्थानीय तहले मन्त्रालयमा बजेट विवरण पठाएका छैनन् । कतिपय स्थानीय तहले नगरसभाबाट बजेट पास नै नभएको र कतिपयले पास भए पनि पठाउन आलटाल गरेको पाइएको छ ।

त्यसले गर्दा बजेट विवरण पठाउन मन्त्रालयले ताकेता गर्दै आएको प्रवक्ता वसन्त अधिकारीको भनाइ रहेको छ । ‘नगरसभामा पास नभएको वा बजेट पठाउन आलटाल गर्ने स्थानीय तहको संख्या हामीले बुझ्दै छौं’ –प्रवक्ता अधिकारीले भने ।

अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ मा अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०७६÷७७ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा÷नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । त्यसरी पेस गरेको बजेट असार मसान्तसम्ममा नगरसभा र गाउँसभाबाट पारित गर्नुपर्ने छ । मन्त्रालयका अनुसार नगरसभा र गाउँसभाबाट बजेट पास नगरेको स्थानीय तहको संख्या ४० को हाराहारीमा रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्