Logo

उडानका लागि विमानस्थल तयार तर उडानमा कटौती



काठमाडौं, साउन २१ । कोभिड–१९ सङ्क्रमणका कारण करिब पाँच महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान सुरु हुँदैछ । यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा छन् ।

सरकारले उडान सुरु गर्ने घोषणा गरे लगत्तै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अन्य विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्राधिकरणले खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिकतर्फ पोखरा, भैरहवा, विराटनगर, भरतपुर, नेपालगन्जजस्ता विमानस्थललाई केन्द्रित गरेर उडान सुरक्षा व्यवस्थापन कार्यान्वयनको तयारी गरिरहेको छ ।

यसका लागि सरकारले जारी गरेको हवाई सेवा पुनः सञ्चालन सम्बन्धी प्रोटोकल कार्यान्वयन गर्दै त्यसैअनुसार विमानस्थल सञ्चालनको तयारी भइरहेको क्षेत्रीले बताए ।

नियमित उडान सुरु भएपछि पनि पहिलेभन्दा निकै कम मात्र उडानलाई मात्र अनुमति प्रदान गर्ने प्राधिकरणको तयारी छ । विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी भए पनि सुरक्षा सतर्कता महìवपूर्ण हुने भएकाले धेरै उडान गर्दा समस्या हुनसक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीको भनाई छ।

उडानमा कटौती
भदौ १ गतेदेखि नियमित उडान सुरु गर्ने सरकारको निर्णय भए पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्राधिकरणले केही समयका लागि भने उडान अनुमति कटौती गर्ने भएको छ । प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार केही समय अन्तर्राष्ट्रिय उडानमा केवल २५ प्रतिशत उडानलाई मात्र अनुमति दिइने छ ।

‘उदाहरणका लागि कतार एयरलाइन्सलाई दैनिक चारओटा उडान अनुमति दिइएकोमा अब भने एउटा मात्र दिइने छ’ उनले भने ।अन्तर्राष्ट्रियतर्फ जहाज उडानको समय अन्तर पनि करिब ४५ मिनेट राखिने भएको छ । आन्तरिकतर्फ भने ३३ प्रतिशत मात्र उडान अनुमति दिइने उनले स्पष्ट पारे ।

आन्तरिक विमानस्थलको टर्मिनलमा एक घण्टामा बढीमा तीन सय यात्रुलाई मात्र सेवा दिने गरी सञ्चालन गर्न प्राधिकरणले निर्देशन दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot