Logo

परीक्षणको दायरा बढाउनुपर्नेमा व्यवसायीको जोड



काठमाडौं, २१ साउन । कोरोना संक्रमणबाट मुलुक आक्रान्त बन्दै गएको बेला सरकारले फेरि एकपटक मुलुकभर लकडाउनको तयारी गरिरहेको छ । व्यापारी, व्यवसायी र बैंकरहरुले भने सरकारलाई मिश्रित सुझाव दिएका छन् ।

राजधानी उपत्यकालगायतका मुलुकका प्रमुख शहरमा कोरोना संक्रमण विस्तारै समुदाय स्तरमा फैलन थालेपछि व्यवसायीहरु थप चिन्तित बनेका छन् भने सरकारले कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेकै कारण समस्या दिन प्रतिदिन बढ्न थालेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि जुन गतिमा काम गर्नुपर्ने थियो त्यो हुन नसकेको कारण आज अवस्था भयावह बन्दै गएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान बताउनुहुन्छ ।

‘सरकारले लकडाउन खोलेको घोषणा गरे पनि अहिले एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जुनजुन प्रावधान खडा गरेको छ, त्यसले व्यापार व्यवसायलाई चौपट बनाएको छ । लकडाउनका कारण धराशयी बन्दै गएको बेला संक्रमणले उग्ररुप लिन थालेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले जुन अवधारणा ल्याउनुपर्ने थियो त्यसमा सरकार चुकेको छ’ –उपाध्यक्ष प्रधानले भन्नुभयो ।

‘अहिले व्यापार व्यवसाय चलेको छ भनेर जुन हौवा फैलाइएको छ त्यो गलत हो’, उपाध्यक्ष प्रधानले भन्नुभयो– ‘लकडाउनको रणनीतिमा परिवर्तन गर्दै परीक्षणको दायरालाई बढाउँदै जानुपर्दछ ।’

उद्योग कलकारखानामा परेको असरलाई सरकारले सम्बोधन गर्ने वातावरण बनाउँदै क्वारेन्टाइनलाई ब्यवस्थित बनाउने र अस्पतालको सेवालाई समेत चुस्तदुरुस्त बनाउन उपाध्यक्ष प्रधानले सुझाव दिनुभएको छ ।

‘कोरोना संक्रमणको अवस्था हेर्ने हो भने अहिले डरलाग्दो अवस्थामा पुगेको छ । हिजो एक जनामा संक्रण देखिँदा सरकारले ४ महिना लकडाउन ग¥यो अहिले टोलटोलमा संक्रमितको संख्या बढेकोबढ्यै छ तर सरकार भने चुप लागेर बसेको छ’ –जडीबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले भन्नुभयो ।

‘अहिलेको अवस्था व्यवसाय सञ्चालन गर्न सकिँदैन त्यसैले सरकारले ढिला नगरी एक महिनाका लागि पूर्णरुपमा लकडाउन गरेर कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउने प्रयासलाई तीव्रता दिनुपर्दछ’ – उहाँले भन्नुभयो ।

अहिले नेपालबाट बाहिर निर्यात हुने सबै वस्तुहरु रोकिएको अवस्था छ । निर्यात व्यवसायमा संलग्नहरु टाट पल्टने अवस्थामा छन् त्यसैले सरकारले व्यवसायीहरुलाई सम्बोधन गर्नेतर्पm ध्यान दिन नसकेको कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

नेपाल बैकर्स संघका पूर्वअध्यक्ष तथा नविल बैंकका कार्यकारी अधिकृत अनिल शाह कोरोना भाइरसलाई अहिले हौवाको रुपमा लिइएको बताउँदै सामाजिक दूरी कायम गर्ने र सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकालाई पालना गर्दै व्यापार व्यवसायलाई खुला गर्नुपर्ने बताउनुहुन्छ ।

मुलुकमा अन्य रोगबाट मानिस कति मरेका छन त्यसको लेखाजोखा कसैले गर्दैन । बितेको चार महिनामा चट्याङ र बाढीपहिरोबाट कति मानिस मरे त्यसको बारेमा कही कतै बहस भएको सुनिँदैन तर मास्क लगाएर बस्ने र साबुनपानीले हात धुने हो भने यो रोगलाई पराजित गर्न सकिने भएकाले नआत्तिन सिइयो शाहले आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो– ‘यो महामारी २ वर्षसम्म रहला के त्यसो हो भने सधैं लकडाउन गर्ने त रु यो समस्याको समाधान होइन त्यसैले यसको समाधानका लागि सामाजिक दूरी कायम गर्दै अगाडि बढ्नुको विकल्प छैन ।’
अहिले व्यापार व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन । तर सञ्चालन नगरी पनि भएको छैन त्यसैले पूरै लकडाउन गर्नु भन्दा पनि सामाजिक दूरी कायम गर्दै सबै संस्था चल्ने बातावरण बनाउनुपर्ने बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका महानिर्देशक गोपाल तिवारी बताउनुहुन्छ ।

‘बैंक तथा वित्तीय संस्था चलेन भने मुलुकको अवस्था कस्तो होला, विगतको लकडाउने सबैलाई पाठ सिकाइसकेको छ, त्यसैले अब कोरोना संक्रमणबाट बच्दै व्यवसायलाई चलायमान बनाउनुपर्दछ’ –महानिर्देशक तिवारीले बताएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्