Logo

घाम लाग्दा घर पानी पर्दा डाँडामा



डोटी, २२ साउन । डोटी सायल गाउँपालिका–२ भुर्केला गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँ माथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका ३ सय ९० जना अहिले गाउँ छोडेर गाउँ माथिको अग्लो डाँडामा पालमुनि बस्नुपरेको छ । गएको शनिबार आएको ठूलो पहिरोका कारण उक्त गाउँका ३५ घरपरिवार आफ्नो गाउँ छोडेर विस्थापित भएका छन् ।

पहिरोका कारण गाउँ छोडेर गएकाहरु अहिले साउन महिनाको झरीमा पालमुनि रात बिताउन बाध्य भएका छन् । पालमुनि बास भएका कारण उनीहरुलाई राति सुत्दा सर्प, लामखुट्टे र जंगली जनावरले सताउने गरेको सायल गाउँपालिकाका स्थानीयबासी धर्मराज जोशीले बताउनुभयो ।

त्यसै गरी शौचालय, खानेपानी तथा उज्यालोका लागि बत्ती समेत नहुँदा उनीहरुलाई दिनहुँ सास्ती हुने गरेको छ । विस्थापितहरुलाई खानेकुरो त छोडौं, शौचालय गर्ने ठाउँ र शुद्ध पानी नहुँदा समस्या भएको छ, फोहोर पानी प्रयोग गरेकाले झाडा पखाला हुने सम्भावना बढेको छ ।

विस्थापित भएका परिवारहरुसँग केटाकेटी भएका कारण बास्न, खानदेखि अन्य कामका लागि पनि निकै समस्या हुँदै आएको स्थानीयबासी बताउँछन् । विस्थापित भएको तीन दिन भइसक्दा समेत कुनै पनि निकायबाट राहत उपलब्ध नभएको पीडितले गुनासो गरेका छन् । उनीहरु भन्छन्– ‘पहिरोले हाम्रो सम्पत्ति त लग्यो, बाँच्नलाई भए पनि एकछाक खाने कुरो त देऊ ।’

बेला लगातार पानी पर्न थालेपछि सुरक्षित बासका लागि गाउँ छोडेर पालमुनि बस्नुपरेको उनीहरुको भनाइ छ । सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले गाउँको तल र माथिबाट पहिरो जान थालेपछि भुर्केला गाउँबासी केही दिन पहिलेदेखि विस्थापित भएर पालमुनि बसेको बताउनुभयो । यो खबर समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot