Logo

विद्यालय नखुले पनि सिकाइ निरन्तर



काठमाडौं, साउन २२ । कोरोना भाइरस सङ्क्रमण बढेर तत्काल विद्यालय खुल्न सक्ने अवस्था नदेखिए पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।

हतारिएर विद्यालयमा बालबालिका बोलाउनुभन्दा सिकाइ निरन्तर गरेर उनीहरूको क्षमता तथा दक्षता अभिवृद्धि गर्नु नै समय सान्दर्भिक हुने सुझाव शिक्षा क्षेत्रका सरोकारवालाले दिएका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले स्वास्थ्य सुरक्षाका कारण केही महिना अझै विद्यालय खोल्न नसकिए पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने बताए ।

विद्यालय खुल्ने र विद्यार्थीमा सङ्क्रमण हुने हो भने त्यसले सीधै समुदाय नै सङ्क्रमित बनाउने भएकाले यसमा विचार पु¥याउनुपर्ने उनले उल्लेख गरे ।

सामाजिक अभियन्ता गुणराज मोक्तान तत्काल विद्यालय खुल्ने परिस्थिति नदेखिएको उल्लेख गर्दै सरकारले बालबालिकालको सिकाइलाई निरन्तर अगाडि बढाउन आगामी दिनमा झन् ध्यान दिनुपर्ने बताए ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले जुन विकल्प प्रयोग गरेर भए पनि विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिनुपर्ने सुझाव दिए। सके विद्यालय चलाउने नभए आधा समय कक्षा चलाउने र त्यो पनि नभए वैकल्पिक तथा अनलाइन विधिबाट कक्षा सञ्चालन गर्नुपर्ने विकल्प रहेको उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्