Logo

सभापति लड्न साथीहरूसँग सल्लाह गर्दैछु : चन्द्र भण्डारी



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद डा. चन्द्र भण्डारीले पार्टीभित्र पछिल्लो समय देखिएको बहसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘पार्टी महाधिवेशनमा जान थालेको हुनाले यसलाई महाधिवेशनको परिधिभित्र, विधानभित्र रहेर त्यस तरिकाले महाधिवेशन हुन्छ भन्ने कुरा आश्वस्त पार्नका निम्ति गरिएको छलफल हो । महाधिवेशनको समयमा यस्तो हुन्छ ।’ प्रस्तुत छ डा. भण्डारीसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईहरूले बेमौसमको बाजा बजाइरहनुभएको छ होइन ? कांग्रेसमा फेरि पनि झगडा सुरु भयो । के कारणले के का लागि झगडा हुन्छ ?

हाम्रो पार्टी महाधिवेशनमा जान थालेको हुनाले यसलाई महाधिवेशनको परिधिभित्र, विधानभित्र रहेर त्यस तरिकाले महाधिवेशन हुन्छ भन्ने कुरा आश्वस्त पार्नका निम्ति गरिएको छलफल हो । महाधिवेशनको समयमा यस्तो हुन्छ ।

सभापति शेरबहादुर देउवाले आफ्नो गुटलाई बलियो बनाउनु भएको छ । विभागहरू गठन गर्नुभएको छ । तपाईहरुको विरोध किन ?

देशको संविधानमा रहेर सरकार चलाउने पार्टीहरू सबैले विधान अनुसार चल्नुपर्छ भन्ने धारणा हो । नियुक्तिहरू गर्नका निम्ति केन्द्रिय समितिको बैठक महाधिवेशन भएको २ महिनाभित्र गर्ने प्रावधान छ । महाधिवेशन निश्चित भईसकेपछि नियुक्ति भन्ने कुरा यसले महाधिवेशनमा प्रभाव पार्छ भन्ने एउटा तर्क छ र यो वास्तविकता पनि हो । अर्को कुरा कांग्रेस पार्टी भनेको एउटा इतिहास, कल्चरको प्रतिनिधित्व गर्छ । हाम्रो पार्टीभित्र सभापति विधान पालना गरिनुपर्छ । सदनमा प्रतिपक्षलाई संविधान पालना गर्नुपर्छ भन्ने कुरामा सचेत बनाउनुपर्छ ।

किन अहिले तपाईहरू जनताको समस्या समाधान गर्न लाग्नुभएन ?

देशमा कोरोनाको महामारी छ । देशमा बाढीपीडितहरूको समस्या बढेको छ । तराइका फाँट, खेतीयोग्य भूमि डुबेको छ । यस्तो अवस्थामा भ्रष्ट्रचार बढेको छ । अहिले आइ.सी.यु, भेन्टिलेटर र औषधी प्रदान गर्न सकिरहेको छैन । यस्तो अवस्थामा गुट र उपगुट भनेर पार्टीहरू विभाजित छन् । यो देश असुरक्षित भयो । विवेक र विचार सुन्ने नेताहरूको अभाव मैले आफुले महशुस गरेको छु । त्यसैकारणले देशका जनता अभिभावकविहीन भएका छन् । यसले सबै नेपालीहरूको मन छोएको छ ।

जनताको समस्या समाधान गर्न सबै पोल्टिकल पार्टीहरू एक हुनुपर्छ । तपाईहरू पार्टीभित्र पनि झगडा गर्नुहुन्छ । सत्ता र प्रतिपक्षबीच पनि सम्बन्ध राम्रो हुन सकेको छैन । राष्ट्रिय संकल्प चाहिन्छ नेताहरूको अब । कसरी देशलाई अगाडि बढाउने ?

प्रतिपक्ष दल र सरकार पक्ष मिलेका छैनन् भन्ने कुरा होइन । यो सरकारले जनतालाई कोरोनाको बेलामा भेन्टिलेसन, आइसोलेसनदेखि लिएर खाद्यान्न, बाढी÷पीडितहरूलाई राहत र जुन कारणले नेपालको भूमि डुबानमा परिरहेको छ, त्यसको लागि पहल गर्नभन्दा यस्तो बेलामा सरकार चलाउने पार्टीभित्र झगडा भईरहेको छ । बाँदरको लडाँइ किन देखाइरहेका छन् ? भन्ने प्रश्न अहिले सबै जनताको हो ।

यसपटक रामचन्द्र पौडेल समूहले साझा उम्मेदवारी दिन सक्छ, शेरबहादुर देउवाको विरुद्धमा ?

भोलीको चुनावमा जित्न, पार्टीलाई मजबुत बनाउन के कार्यक्रम ल्याउँछ, कार्यकर्तालाई समान अवसर र न्याय दिनका निम्ति के नीति अबलम्बन गर्छ, विदेशसँग छलफल र वार्ता गर्नका निम्ति कुन रणनीति लिन्छ ? त्यसका आधारमा ध्यान दिन सकियो भन्ने बल्ल गुट र उपगुटको प्रचलन अन्त्य हुन्छ । त्यसपछि नेताहरू अगाडि बढ्न सक्छन् । जसले सबल कांग्रेस बनाउँछ, त्यस्ता नेतृत्वलाई जिम्मेवारी दिने धारणाबाट अगाडि जानुपर्छ ।

युवा पुस्ता उम्मेदवारी दिन तयार छन् ?

नेपालमा विचारको आधारमा युवाहरू कम छन् । युवा भनेको विचार हो, उमेर होइन । नेपालका युवाहरू अत्यन्तै कमजोर भएको कारणले, मुद्दालाई देखेर अगाडि बढ्न नसकेको कारणले, भोलीको सपनालाई जनतासमक्ष राख्न नसकेको कारणले, आज अत्यन्तै धेरैपटक टेस्ट भईसकेका नेताहरूलाई हामीले नाम लिन परिरहेको छ । त्यसकारण विचारका आधारमा हाम्रा राष्ट्रिय मुद्दाहरू कमजोर भईरहेका छन् । कसरी गुट र उपगुटको अन्त्य गर्ने ? कसरी यति धेरै दुःख गरेर बसेका कार्यकर्ताहरूलाई समान अवसर र न्यायको आधारमा पद वितरण गर्ने ? कसरी यो भौतिकवादले ल्याएको व्यापार गर्ने जुन प्रणालीको विकास गरिएको छ, त्यसलाई कसरी अन्त्य गर्ने भनेर तयारी गर्नका निम्ति पुरानो पुस्तालाई कन्भिन्स गरेर नयाँ पुस्ताले नेतृत्व गरेर अगाडि बढ्छ ।

त्यसो भए तपाई पनि सभापतिको दाबेदार हो आउँदो महाधिवेशनमा ?

म पनि मेरा साथीहरूसँग सल्लाह गरेर नेतृत्व गर्न अगाडि बढेको मान्छे हो । म मात्र होइन, मभन्दा राम्रा कार्यकर्ताहरू राम्रो विचार र अठोट लिएर हिँड्ने युवा पुस्तालाई अगाडि बढाउने काम गर्नुपर्छ । युवा पुस्ता भनेको विचार हो । देशको सपना पूरा गर्नसक्ने जो कोही पनि कांग्रेसको नेता बन्नसक्ने प्रणालीको विकास गर्न पनि लाग्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot