Logo

बाढीले पुल बगाएपछिको असर: पाँच मिनेटको बाटो पार गर्न डेढ घण्टा



दमौली, २३ साउन। असार अन्तिम साता र साउन पहिलो साता आएको बाढी र पहिरोले तनहुँमा ठूलो क्षति भएको छ । यस अवधिमा पहिरोमा परी १३ जनाको मृत्य भयो, एक जना अझै बेपत्ता छन् भने दुई जना घाइते भए । त्रिशुली नदीमा आएको बाढीले झोलङ्गे पुल बगाउँदा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं। ५ को दोन्द्राङबेसीसहित केही गाउँका बासिन्दालाई पाँच मिनेटमा पार गर्न सकिने बाटो अहिले कम्तीमा डेढ घन्टा लाग्ने भएको छ ।

उक्त गाउँलाई मुग्लिङ–नारयणगढ सडक खण्डको भरतपुर महानगरपालिका–२९ को सिमलतालस्थित राजमार्गसम्म जोड्ने झोलुङ्गे पुल गत साउन ५ गते आएको बाढीले बगाएपछि नागरिकहरू डेढ घन्टा परको रिग्दी खोलाको पुलबाट वारपार गर्न बाध्य भएका छन् ।

‘हाम्रो गाउँबाट सो पुल हुँदै राजमार्गमा निस्किन पाँच मिनेट लाग्थ्यो’ दोन्द्राङबेसीमा रिसोर्ट सन्चालन गर्दैआएका सन्तोष मगरले भन्नुभयो, ‘अहिले राजमार्गमा पुग्न डेढ लाग्छ ।’ मगरका अनुसार त्यही पनि ठूलो पानी परेको समयमा आवतजावत नै बन्द हुन्छ । ‘नदीको किनारैकिनार हुँदै जानुपर्छ’ मगरले भन्नुभयो, ‘नदी बढेको समयमा बाटो सबै पानीले पुरिन्छ ।’

सो पुलहुँदै दोन्द्राङबेसी, छिम्केश्वरी, मझुवा, लेस्थर, लाब्दी र भोटेस्वारा गाउँका सयौँ नागरिक पनि सोही पुल हुँदै आवतजावत गर्थे । ती सबैको अहिलेको राजमार्गमा निस्कने बाटो परिवर्तन भएको भरतपुर महानगरपालिका–सिमलतालका प्रकाश गुरुङले बताउनुभयो । ती सबै गाउँबाट मुग्लिङ–नारायणगढ सडकमा निस्कने सबैभन्दा नजिकको पुल नै बाढीले बगाएपछि सबैले वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएको गुरुङले बताउनुभयो ।

पुलको फट्टा बाढीले बगाएर लठ्ठा मात्र बाँकी रहेको अवस्थामा दोन्द्राङबेसीका मानसिक अवस्था कमजोर भएका एक वृद्ध गत साउन १२ गते लठ्ठा समाएर तर्न खोज्दा पुलबाट खसेर बेपत्ता भएको गुरुङले जानकारी दिनुभयो । सामान्य व्यक्तिलाई डेढ घन्टा लगाएर हिँड्न परे पनि खासै समस्या नहुने तर बिरामी र अशक्तहरूलाई भने निकै समस्यामा परेको गुरुङ बताउनुहुन्छ ।

उहाँका अनुसार धेरै विद्यार्थीहरू पनि सोही पुल हुँदै चितवनतर्फ अध्ययन गर्न आउँछन् । अहिले विद्यालय बन्द भएकोले विद्यार्थीलाई खासै समस्या नभएपनि भदौमा विद्यालय सञ्चालन भएपछि भने विद्यार्थीहरू पनि ठूलो मारमा पर्ने उहाँको भनाइ रहेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्