काठमाडौं, साउन २३। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणबाट विश्वव्यापी मृत्युदर ३।८ प्रतिशत छ । सार्क मुलुकमा मात्र दुई प्रतिशत पुगेको छ । नेपालमा पनि कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएको छ ।
यतिबेला नेपालमा कोरोना सङ्क्रमणको मृत्युदर ०.३ प्रतिशत रहेको छ । करिब एक महिना अघि नेपालमा ०.१ प्रतिशत मृत्युदर रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सार्क क्षेत्रका आठ मुलुकमध्ये सबैभन्दा बढी अफगानिस्तानमा ३.५ प्रतिशत मृत्युदर छ ।
त्यसपछि भारत र पाकिस्तानमा २.१ प्रतिशत, बङ्गलादेशमा १.३ प्रतिशत, श्रीलङ्कामा ०.४ प्रतिशत मृत्युदर पुगेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु नहुने एउटै मात्र सार्क मुलुक भुटान रहेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार विश्वभर एक करोड ८७ लाख २८ हजार ५४७ जना सङ्क्रमित पुगेका छन् । जसमध्ये सात लाख चार हजार बढीको ज्यान गएको छ । तीमध्ये ६३ प्रतिशत निको भएका छन् ।
अझै ३३.९ प्रतिशत सक्रिय कोरोना सङ्क्रमित छन् । सार्क मुलुकतर्फ नेपालमा २७.६ प्रतिशत सक्रिय सङ्क्रमित छन् । निको भएर घर फर्कनेमा नेपालका ७२.१ प्रतिशत रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।