Logo

बलात्कार कि बार्गेनिङ ?



विराटनगर, २३ साउन । विराटनगर महानगरपालिका–४ की ३६ वर्षीया महिला आफू बलात्कृत भएको भन्दै २०७६ साल जेठ ३ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेली पुगिन्।

नेपाल–बंगलादेश बैंक कर्सिया शाखाका प्रमुख ४१ वर्षीय अमित बास्तोलाले बैंकबाट ऋण दिने प्रलोभन देखाएर आफूलाई बलात्कार गरेको भन्दै उनले किटानी जाहेरी दिइन्। घटनाको प्रकृति हेरेर अलमलमा परेको प्रहरीले तत्काल जाहेरी लिएन। विभिन्न निकायबाट दबाब परेपछि जाहेरी दर्ता गरी बास्तोलालाई पक्राउ गर्दै हिरासतमा राखेर प्रहरीले घटनाको अनुसन्धान अघि बढायो।

जाहेरीमा आफू २०७५ चैत २६ गते बलात्कृत भएको महिलाले उल्लेख गरेकी थिइन्। अनुसन्धानका क्रममा बास्तोलाले कुनै प्रलोभन नदेखाइकन दुई जनाको आपसी सहमतिमै यौन सम्पर्क भएको बयान दिएका थिए। जबरजस्ती करणी मुद्दामा बास्तोलालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अहिले यो मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ।

बास्तोलाबाट पीडित भनिएकी महिला पुनः बलात्कारको अर्को जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा पुगिन्। उनले आफूलाई २०७६ फागुन ३ गते बलात्कार गरेको भन्दै पूर्व प्रहरी नायव निरीक्षक नयन श्रेष्ठविरुद्ध किटानी जाहेरी दिइन्। प्रहरीले असार ३१ गते पक्राउ गर्दै विराटनगर महानगरपालिका–१२ बखरी घर भएका श्रेष्ठलाई हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ।

विराटनगरमा रहेको काडमाडौं सेक्युरिटी कम्पनीका सञ्चालकसमेत ५० वर्षीय श्रेष्ठले कम्पनीको कार्यालयमा लगेर आफूमाथि बलात्कार गरेको उल्लेख गर्दै ती महिलाले जाहेरी दिएकी हुन्। पीडित भनिएकी महिलाले घटना भएको पाँच महिनापछि शंकास्पद हिसाबको जाहेरी ल्याएको भन्दै सुरुमा प्रहरीले दर्ता गरेन। तर प्रहरी प्रधान कार्यालय र महान्याधीवक्ताको कार्यालयमार्फत दबाब आएपछि भने दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाइएको हो।

जाहेरीमा श्रेष्ठसहित उनका भाइ ज्योति र श्रीमती रसिलालाई पनि प्रतिवादी बनाइएको छ। जबरजस्ती करणीको आरोप लगाएकी महिलालाई भने नयनले पटक–पटक गरेर पाँच लाख रुपैयाँ बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीकाअनुसार मोटरसाइकलमा यात्रा गर्ने क्रममा सुन र पैसा हराएको दाबी गर्दै महिलाले नयनसँग १० लाख मागेकी थिइन्। तर प्रहरी चौकी बखरीमा छलफल गर्दा तीन लाख २५ हजार रुपैयाँ श्रेष्ठले दिएपछि घटना मिलेको थियो।

तीन लाख २५ हजार प्रकरणमा प्रहरी नै साक्षी रहेको नयन र ती महिला जोडिएको घटना अहिले जबरजस्ती करणीमा परिणत भएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार लकडाउनका क्रममा पनि श्रेष्ठमाथि पैसा दिन महिलाबाट दबाब परेको थियो। पैसा नबुझाउँदा उनीमाथि विभिन्न नाम लिएर पुरुष व्यक्तिहरुबाट पटक–पटक धम्की आएको पाइएको प्रहरीका एक अनुसन्धान अधिकृतले बताएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्