Logo

नेपाल–भारत वारिपारि गर्नेबाट उच्च जोखिम



विराटनगर, साउन २३ । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ ।

साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ ।

विशेष गरेर महामारी फैलिएको बेलामा पनि आफन्त भेटघाट गर्न आवतजावत गर्ने र सीमा क्षेत्रमा कडाइ गरिएका बेलामा पनि लुकिछिपी तस्करी गर्नेबाट नेपालतर्फका सीमावर्ती बस्तीहरुमा कोरोनाको सङ्क्रमण फैलिन सुरु भएको सुनसरीको हरिनगर गाउँपालिकाका लुकमान अन्सारीले बताए ।

अझै पनि सीमा क्षेत्रबाट ओहोरदोहोर रोकिएको छैन, सहज रुपमै आउने जाने क्रम चलिरहेका स्थानीयहरु बताउँछन् ।सुनसरीको बर्जु गाउँपालिकाको रामगञ्ज बेलगछिया, अमडुवा, अमाहिबेलाहा, देवानगञ्ज गाउँपालिकाको साहेवगञ्ज, कप्तानगञ्ज, देवानगञ्ज, हरिनगर गाउँपालिकाको घुस्की, बसन्तपुर, भोक्राहा नरसिंह गाउँपालिकाको नरसिंह टप्पु , कोसी गाउँपालिकाको लौकही, पश्चिम कुशाहा, लाही, श्रीपुर, हरिपुर र भण्टाबारी सम्मका एक दर्जनभन्दा बढी नाकाबाट दैनिक सयौंको सङ्ख्यामा सर्वसाधारणहरु नेपाल भारत ओहोरदोहोर गरिरहेका छन् ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिकाको रानी नाका, जहदा, धनपालथान गाउँपालिका तथा रङ्गेली, सुनवर्षी र रतुवामाई नगरपालिका विभिन्न स्थानबाट अहिले पनि नेपाल भारतको आवतजावत रोकिएको छैन ।

नेपाल भारत बीचको खुल्ला सीमाना र बस्ती जोडिएको कारण सर्वसाधारणलगायत तस्करी गर्नेहरुको पनि सहजै आउजाउ हुने गरेको सुनसरीको देवानगञ्जका स्थानीय सज्जाद मियाँले बताए । यसरी सीमा क्षेत्रबाट आफन्त भेटघाट गर्न आउजाउ गर्ने र चोरीपैठारी गर्नेहरुबाट समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने कुराबाट स्थानीयहरु त्रसित छन् ।

भारतमा आफन्त रहेका नेपाली तथा नेपालमा आफन्त रहेका भारतीय नागरिकहरु स्थानीय र सुरक्षाकर्मीहरुको आँखा छलेर वारिपारि गरिरहेका छन्, यसले स्थानीय क्षेत्रमा जोखिम बढाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्