जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले अहिले लकडाउन लगाउन नहुने धारणा राखेका छन् । उनले लकडाउन लगाउँदा देशभरिको समस्या समाधान नहुने मात्रै नभएर अन्य समस्याहरु पनि आउने खतरा औंल्याएका छन् । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । तर, उनले संक्रमित बढि देखिएका ठाउँमा अलिक कडाई गर्नुपर्ने सुझाव दिएका छन् । सरकारले लकडाउन खोल्ने र फेरि बन्द गर्नेजस्तो काम गर्न नहुने उनको तर्क छ । बरु, आम नागरिकले आफ्नो दैनिकीमा फर्किनका लागि लिनुपर्ने सावधानीका साथ अघि बढ्नुपर्ने दिक्षितको सुझाव छ । प्रस्तुत छ डा. दिक्षितसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
कोरोना रोकथामका लागि सरकारले अब कस्तो कदम चाल्नुपर्छ ?
लकडाउन खोल्ने फेरि बन्द गर्ने यस्तो गर्नुहुँदैन । हामीले अब दैनिकीमा फर्किनका लागि लिनुपर्ने साबधानीका साथ अगाडि बढ्नुपर्छ ।
त्यसो भए लकडाउनको आवश्यकता छैन । सरकारले अब लकडाउन नगरे ठिक हुन्छ ?
कही अलिकति बढील संक्रमित देखियो भने त्यहाँ अलि कडाइ गर्नुपर्छ । समग्रमा एउटै आँखाले देशव्यापी हेर्नुहुँदैन ।
लकडाउन गरेर समस्याको समाधान हुँदैन ?
लकडाउनले देशभरिको समस्या समाधान नहुने मात्र होइन, अन्य समस्याहरू पनि आउँछ ।
के अरू समस्याहरू आउँछन् ? बुँदा १, २, ३ मा भन्नुहोस् ।
अब अन्य रोगको समस्या आउँछ । साथै अर्थतन्त्रमा असर बढेर रोगहरूबाट जस्तै क्षयरोगबाट दिनको २ देखि ४ मान्छेको मृत्यु हुन्छ । यसमा हामीले हाम्रो देशलाई अरू देशसँग तुलना गर्न मिल्दैन ।
काठमाडौँ उपत्यकाको कुरा गर्दाखेरि संक्रमण ह्वात्तै बढेको छ । जनता त्रसित छन् । यस्तो अवस्थामा लकडाउन नगर्ने ?
लकडाउन खुकुलो भएको हो । खुकुलो भएको र बन्द भएकोमा ठुलो फरक छ । हो, संक्रमण बढेको छ तर महामारी त्यसै भनेको होइन, यो विश्वव्यापी नै महामारी हो । संक्रमण केही समय अझै बढ्छ । परीक्षणलाई कमजोर बनाउनु हुँदैन । परीक्षण गर्दै जाने तर दैनिकीमा फर्किदै जाने, परीक्षणमा पोजिटिभ आएकाहरूलाई आइसोलेसनमा राख्ने र अरू बाँकी नागरिकहरूलाई दैनिकीमा फर्काउने गर्नुपर्छ ।
प्रदेश नम्बर २ को समस्या तपाईलाई थाहा छ । जटिलतातिर गयो नि त्यहाँ त ? महामारी फैलियो ?
प्रदेश २ मै परीक्षणको दायरा पनि बढाउन थाल्नुभएको छ उहाँहरूले । परीक्षण बढाएर लैजाने हो भने आम संकट केही पनि हुँदैन । विश्वव्यापी तथ्यांकलाई हेर्ने हो भने त ९० प्रतिशतलाई संक्रमण नै देखिएको छैन । हामी जे गर्छौँ, जसो गर्छौँ तर परीक्षणको दायरा बढाउने हो भने जोखिमलाई कम गर्न सक्छौँ । भेन्टिलेटरभन्दा बढी अक्सिजन चाहिन सक्छ । तथ्यांकले के देखाउँछ भन्दाखेरि अहिलेको अवस्थामा कडा संक्रमण हुनेहरूलाई अक्सिजन बढी चाहिन्छ । राज्यले अक्सिजनमा बढी ध्यान दिनुपर्छ । अक्सिजनसहितको बेड हुनुपर्छ । जसको लक्षण नै छैन, उहाँहरूलाई अस्पतालमा लग्ने नै होइन । उहाँहरूको अरू वैकल्पिक तयारी गर्नुपर्छ ।
सरकारले मापदण्ड बनाउनुपर्छ नि त । कसलाई कसरी उपचार गर्ने ? विरामी कहाँ राख्ने ?
लकडाउनलाई जादुको छडीको रूपमा नहेरौँ । त्यो त टेम्पोररी समाधान मात्र हो । क्वारेन्टाइनलाई बढाएर आइसोलेसनसहित अगाडि बढ्नुपर्छ । मुख्य कुरा त सबैलाई कडीकडाउ गरेर प्रत्येक नागरिकले मास्क लगाएर सकेसम्म दुरी कायम राखेर जानुपर्छ ।
मास्क नलगाउनेहरू धेरै छन्, सडकमा हेर्नुहोस त मास्क नलगाईकन मानिसहरु हिँडिरहेका छन् ?
यो एकदमै गलत छ । दुबैजना एकअर्कासँग कुरा गरिरहेका छन् र दुबैले मास्क लगाएका छन् भने सम्भावित दुई जनामध्ये एक जना संक्रमित हुनुहुन्छ भने संक्रमण हुने सम्भावना ८० देखि ९० प्रतिशत झर्दो रहेछ । भनेपछि मास्क त कति महत्वपूर्ण रहेछ । हामीले कमसे कम २ मिटरको दुरी दुईजनाको बीचमा ६ फिटभन्दा अलि बढीको दुरी राखेर मास्क लगाइदियो भने संक्रमण हुने सम्भावना एकदमै कम हुन्छ ।
संक्रमणबाट बचाउनका लागि अहिले हामीले गर्नुपर्ने काम के हो ?
राज्यले के गर्छ, के गर्दैन, म अहिले भन्दिनँ । नागरिकमा जिम्मेवारी बढेको छ । अहिले हामीले आफ्नो तर्फबाट गर्ने काम भनेको मास्क लगाउने एकदमै राम्रो उपाय हो । बाहिर सकेसम्म भीडभाड नगरौँ । अर्को कुरा यो नाराबाजी, आन्दोलन गर्ने काम नगरिदिऔँ । मास्क लगाउने र दुरी कायम गर्ने कुरामा राज्यले कडा किसिमले पेश होस् जसले गर्दा नागरिकले जिम्मेवारी पूरा गरेन भने पनि डरले भए पनि मास्क लगाओस् ।
वर्तमान सरकारले चालेको सबै कदम सही छ ? सफल छ ?
सफल त भन्नै मिल्दैन । सरकार चुकेकै हो तर खैर छोडिदिऔँ, उहाँहरूले गरिरहनुभएकै छ । म प्रधानमन्त्रीलाई के भन्न चाहन्छु भने शब्दावलीमा ध्यान दिऔँ । राज्यले नै लकडाउन सकियो भनेको छ । तर त्यो होइन नि त । खुकुलो भएको हो । आम नागरिकमा खुकुलो हुनु र खुल्नुमा आकाश पातालको फरक छ । शब्दावलीमा पनि सरकार नराम्रोसँग चिप्लिरहेको छ । हामी नागरिकलाई राज्यले पटकपटक आग्रह गरिदिनुपर्छ, मास्क लगाउनु भनेर । त्यसै भनेर हुँदैन । प्रधानमन्त्रीले नै आएर सम्बोधन गरिदिनुपर्छ । Photo By: Mukund Kalikote