Logo

बंगलादेशकी राजदूतद्धारा अर्थमन्त्री खतिवडासँग विदाई भेट



काठमाडौं, २३ साउन । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेश महामहिम राजदूत मास्फी बिन्ते साम्सबीच शिष्टाचार भेट भएको छ । मन्त्री खतिवडा र राजदूत बिन्ते साम्सबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

आफ्नो ७ वर्षे कार्यकाल पुरा गरी बंगलादेश फर्कन लागेकी राजदूतले अर्थमन्त्रीसँग बिदाई भेट गरेकी हुन् । भेटमा अर्थमन्त्रीले नेपाल र बंगलादेश बीच ५ दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्नु हुँदै द्विपक्षीय व्यापार, उर्जा र लगानीका विविध आयाममा दुवै देश बीच सहकार्य भैरहेको धारणा व्यक्त गरे । उनले दुवै देश प्राकृतिक, मानव संशाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने विचार व्यक्त गरे ।

अर्थमन्त्री खतिवडाले नेपाल र बंगलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्नु हुँदै अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले सहकार्य हुनसक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए।

उनले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाईसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको उल्लेख गरे। उनले सार्कको माध्यमबाट क्षेत्रीय सहयोग तिव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बंगलादेश र भुटान बीचको उपक्षेत्रीय इकाई महत्वपूर्ण हुन सक्ने बताए ।

अर्थमन्त्री खतिवडाले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि धेरै विषयहरुलाई आत्मसाथ गरी आर्थिक विकासको गति अघि बढाईरहेको जानकारी दिए। लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोवाइल बैंकिगंको विस्तारमा नेपालले बंगलादेशबाट धेरै सिकेको उल्लेख गर्नु हुदै अर्थमन्त्रीले कोभिड– १९ ले ल्याएको चुनौति र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न आव्हान गरे ।
खतिवडाले राजदूतको नेपालको कार्यकाल सफल रहेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य हुने अपेक्षा सहित सफल यात्राको कामना गरेका थिए ।

भेटका अवसरमा राजदुत साम्सले बंगलादेश नेपालसित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा संगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले दुई देशबीच व्यापार, उर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्दै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताए ।

वातावरणीय संवेदनशिलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा सम्बाद जस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै राजदुतले नेपाल बंगलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गरेकी थिईन् । राजदूतले नेपालमा ७ बर्षको सफल कार्यकाल समापन पछि बंगलादेशको विदेश मन्त्रालयमा फर्कन लागेको र यस अवधिमा नेपालले आफ्नो कार्य सम्पादनमा पुर्याएको महत्वपूर्ण सहयोग र हार्दिकतापूर्ण समन्वयका लागि धन्यवाद दिएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्