Logo

१३ हवाई कम्पनीले मागे उडान अनुमती



काठमाडौं, साउन २४ । हवाई उडानका लागि १३ वटा वायुसेवा प्रदायक कम्पनीले सरकारसँग अनुमति माग गरेका छन्। गत चैत ११ गतेदेखि नेपालमा आन्तरिक र बाह्य हवाई सेवा अवरुद्ध छ।

आगामी भदौ १ गतेदेखि हवाई सेवा पुनः सञ्चालन गर्ने सरकारको घोषणासँगै एक दर्जनभन्दा बढी विमान कम्पनीले उडानका लागि अनुमति माग गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स कम्पनीसँगै अन्तर्राष्ट्रिय ११ वायुसेवा कम्पनीले नेपालमा उडान गर्न सहमति जनाउँदै अनुमतिका लागि निवेदन दिएका हुन्।

जसअनुसार अनुमति माग गर्ने अन्तर्राष्ट्रिय बिमान कम्पनी टर्किस एयर, सलाम एयर, इन्डिगो चाइना साउथर्न, एयर चाइना, जजिरा एयर, फ्लाइ दुबई मलेसिया एयरलाइन्स, मालिन्दो एयर र एयर अरेबिया छन्। १३ कम्पनी गरी १ सय ५८ वटा उडानका लागि निवेदन परेको क्षेत्रीले बताए। उडान निवदेनका लागि अझै केही समय बाँकी रहेकाले इच्छुक वायुसेवा कम्पनीले अनुमति दिन आउन सक्ने उनले बताए।

आन्तरिक तथा बाह्य उडानलाई कुल उडानको २५ प्रतिशत हुने गरी अनुमति दिने तयारी सरकारको छ। कोभिड १९ अघिसम्म दैनिक हुने कुल उडानको २५ प्रतिशत हुने गरी उडान अनुमति दिने निश्कर्षमा पर्यटन मन्त्रालय पुगेको सहसचिव सुरेश आचार्यले जानकारी दिए।

नियमित उडान खुलाउने विषयमा सरकारले आन्तरिक तथा बाह्य उडानलाई सुरक्षित बनाउने विषयमा गृहकार्य सुरु गरेको छ। अन्तर्राष्ट्रिय उडानको हकमा दैनिक बढीमा १२ वटा र आन्तरिक उडानको हकमा दैनिक ४० वटासम्म उडानको अनुमति दिन सकिने गरी तयारी छ। ढेड महिनाका लागि हुने गरी यो उडान तालिका निर्धारण गरिएको आचार्यले बताएको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot