Logo

साठ्ठी नमूनाको जिन सिक्वेन्सिङ गरिँदै, दुई हप्ताभित्र नतिजा आउने



काठमाडौँ, २५ साउन । नेपालमा रहेको कोभिड–१९ को आनुवंशिक जिन सिक्वेन्सिङ को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको हो । परिषद्ले नेपाली वैज्ञानिक विज्ञ र अनुसन्धानकर्ताबाट पहिलोपटक निजी प्रयोगशालामा जिन सिक्वेन्सिङ थालिएको परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

नेपालमा सङ्क्रमितमा रहेको कोभिड–१९ को जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन थालिएको हो । अध्ययनबाट यहाँ रहेको कोभिड–१९ को भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्नेछ । सबै देशले आफ्नो देशमा सङ्क्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जिन सिक्वेन्सी गरिरहेका छन् ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेगनाथ धिमालले फरक फरक सङ्क्रमित व्यक्तिको नमूना लिएर जिन सिक्वेन्सिङ गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमित भएर मृत्यु भएका, सङ्क्रमित भएर निको भएका, लक्षणरहित र सामान्य सङ्क्रमित, बालबालिका, युवा र वृद्धा सङ्क्रमित तथा फरकफरक देशबाट आएका सङ्क्रमितको नमूना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गर्न थालिएको हो ।

अध्ययनका लागि परिषद्ले काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर पनि जिन सिक्वेन्सिङका लागि आवश्यक किट नआएकाले निजी प्रयोगशालाले गरिरहेको छ । “हामीले काठमाडौँ विश्वविद्यालयसँग जिन सिक्वेन्सिङ गर्न भनेर सम्झौता गरेका थियौँ”, डा धिमालले भन्नुभयो, “तर विश्वविद्यालयसँग आवश्यक किट नआएकाले निजीलाई सिक्वेन्सिङको काम दिएका छौँ ।”
उहाँले करीब ६० वटा नमूनाको जिन सिक्वेन्सिङ गर्ने योजना रहेको भन्दै आगामी नयाँ नमूनाको भने विश्वविद्यालयमा नै जिन सिक्वेन्सिङ गर्ने बताउनुभयो ।

सङ्क्रमित व्यक्तिको स्वाब र रगतबाट जिन सिक्वेन्सिङ गरिने छ । उहाँका अनुसार अबको दुई हप्ताभित्र नतिजा आउनेछ । अध्ययनबाट कोरोना भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्छ । “जिनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ”, उहाँले भन्नुभयो, “भाइरस पत्ता लागेपछि कोभिड–१९ विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ ।” यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्