Logo

सेनाले भारतबाट औषधि नल्याउने



काठमाडौं, साउन २५ । नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिनेभएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औषधि खरिद प्रक्रिया नै बन्द भएको छ ।

कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा आवश्यक पर्ने दुई करोड २५ लाख रुपियाँको औषधि भारतसँग खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले खरिद प्रक्रिया अगाडि बढ्न नसकेको तर कोरोना नियन्त्रण तथा उपचार गर्न आवश्यक पर्न सक्ने औषधि लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति हुन थालेपछि भारतसँग औषधि खरिद प्रक्रिया बन्द भएको जानकारी दिए ।

उनले अहिले भारत सँगको औषधि खरिद प्रक्रिया टुङ्गिएको भन्नुपर्छ । फेरि आवश्यक परेको अवस्थामा फेरि प्रक्रिया अगाडि बढाउने छौँ । अहिलेलाई आवश्यकता देखिएन र अलिकति भुक्तानीको समेत समस्या आएको हुनाले अहिले यो प्रक्रिया नै बन्द गरिएको उनको भनाई छ ।

उनका अनुसार औषधि खरिद गर्न सेनाले रक्षा हुँदै परराष्ट्र मन्त्रालय मार्फत भारतको विदेश मन्त्रालयलाई पत्राचार गरिएको थियो । त्यसपछि औषधि आपूर्ति गर्न सिफारिस गरिएको बीपीपीआई भन्ने कम्पनीसँग जङ्गी अड्डाको खरिद एकाइले ‘मोड अफ पेमेन्ट’ तथा ‘मोड अफ डिलेभरी’ का लागि पत्र पठाए पनि उक्त कम्पनीबाट मूल्यसूची प्रस्ताव आउन नसकेको प्रवक्ता पौडेलले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्