Logo

उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह



काठमाडौँ, २६ साउन। उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेको छ । आइतबार फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्रीसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गर्नुभएको हो ।

काठमाडौँ देशकै राजधानी भएको र यहाँ घना बस्ती भएकाले कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलियो भने रोक्न नसक्ने भन्दै आवतजावतमा कडाइ गर्न आग्रह गरिएको फोरमले जनाएको छ । उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कडाइ गर्नुपर्ने, अन्तर जिल्ला यातायात खुला नगरिए पनि आवतजावत भइरहेकाले त्यसलाई रोक्न आग्रह गरिएको फोरमका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

उपत्यकामा ठेलागाडा, उद्योगधन्दा र निर्माण क्षेत्रमा काम गर्ने मजदुरले स्वास्थ्यका न्यूनतम मापदण्ड पनि पालना नगरेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको छ । उपत्यकावासीको मागमा उपप्रधानमन्त्री सकारात्मक रहनुभएको जानकारी फोरम अध्यक्ष शाक्यले दिनुभयो ।

शाक्यले भन्नुभयो, “तेस्रो मुलुकबाट आउन सक्ने ठूलो सङ्ख्याका नागरिकलाई दष्टिगत गरी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार एकीकत क्वारेन्टाइन सङ्घीय सरकारले सञ्चालन गर्ने र व्यवस्थापन स्थानीय सरकारले गर्ने गरी व्यवस्था गर्न आग्रह गरिएको छ ।”

उपत्यकाका विभिन्न स्थानमा विरोध, समर्थन, ¥याली, भेला, बैठक, गोष्ठी, अनशन, जुलुस लगायतका गतिविधि कायम रहेकाले कडाइ गर्न ध्यानाकर्षण गराइएको उपत्यका नगरपालिका फोरमले जनाएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्