Logo

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प



ललितपुर, साउन २७ । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको मृत्यु भएको छ । उपत्यकामा संक्रमणको सन्त्रास बढेसँगै यहाँका सबै महानगरपालिका र नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा तीन साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिसकेका छन् । राजधानीमा नै सर्वसाधारण त्रसित बन्न पुगेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चालेका प्रयासहरू निरर्थक देखिएका छन् ।

संक्रमणका कारण काठमाडौंमा सात र ललितपुरमा दुई जनाको मृत्यु भएको हो । सोमबार मात्रै काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ । संक्रमण सन्त्रास बढेसँगै काठमाडौं उपत्यकाभित्रका २ महानगरपालिका र १६ नगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा तीन साताका लागि बन्द गर्ने निर्णय गरेका हुन् । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले नगरपालिकाले दिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

फोरमकोे बैठकले सबै सेवा प्रवाह बन्द गर्नेलगायतका विभिन्न १० वटा निर्णय गरेको टोखा नगरपालिका प्रमुुख प्रकाश अधिकारीले जानकारी दिए । यस्तै, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपत्यका जोखिमको क्षेत्र रहेको भन्दै भीडभाड कम गर्न अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot