Logo

भागवण्डाले ध्वस्त परीक्षा नियन्त्रण कार्यालय



काठमाडौं, २८ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय भागवण्डाले ध्वस्त भएको छ । आर्थिक लेनदेन गरी नम्बर थपेर गोल्ड मेडलिस्ट बनाउन सहयोग गर्ने त कहिले नक्कली परीक्षक खडा गरी उत्तरपुस्तिका परीक्षण गरेबापत २० लाख रुपियाँ भुक्तानी लिने घटनाले बदनाम भएको पनिकामा १० सहनियन्त्रक कार्यरत छन् ।

विभिन्न पद माग्दै झगडा, तोडफोड र तालाबन्दी गर्न आउने पार्टीगत प्राध्यापकका संघ–संगठनलाई मिलाउन यति धेरै सह–नियन्त्रक नियुक्ति गरिएको पाइएको छ । डीन कार्यालयले सबै संकायको परीक्षा सेमेस्टर प्रणालीबाट सञ्चालन गर्न शुरु गरिरहेको अवस्थामा जम्बो सहनियन्त्रकको आवश्यकता नभएको त्रिविकै भनाइ छ ।

वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन, लब्धाङ्कपत्र र ट्रान्सकिफ्ट वितरणलगायत सीमित काम मात्र गर्ने पनिकामा यति धेरै सहनियन्त्रक राख्नु औचित्यहीन देखिएको छ । हाल कार्यरत सबै सहनियन्त्रकको म्याद सकिएको छ । सबैलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै थमौती दिने गरिएको छ ।

पनिकामा पशुपति अधिकारी, भूपालकुमार श्रेष्ठ, सञ्जयकुमार मिश्र, अखिलेश कुमार, विष्णुप्रसाद वाग्ले, धनश्याम ठाकुर, अर्जुनविक्रम खड्का, तीर्थराज न्यौपाने, अर्जुनबहादुर भण्डारी र ईश्वरी शर्मा ढकाल कार्यरत छन् ।

तीमध्ये सञ्यजकुमार मिश्रले आफ्नो नियुक्तिको समय सकिएको जनाउँदै सहनियन्त्रक पद छाड्नुभएको छ । त्रिवि कार्यकारी परिषद्ले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै दुई कार्यकाल म्याद थप्ने गरेको छ । ‘तत्काल नियुक्ति गर्ने वातावरण नभएपछि म्याद थमौती गर्दै पत्र दिँदै टिकाउने गरेको छ’ –स्रोतले भन्यो ।

नियुक्ति भएकामध्ये नियन्त्रक पुष्पराज जोशी नेपाली कांग्रेसको कोटाबाट नियुक्ति हुनुभएको हो । स्रोतका अनुसार सहनियन्त्रक पशुपति अधिकारी, धनश्याम ठाकुर, अर्जुनविक्रम खड्का पूर्वएमाले कोटाबाट नियुक्ति पाएका हुन् ।

अर्जुन भण्डारी, भूपालकुमार श्रेष्ठ पूर्वमाओवादी कोटाबाट, अखिलेश कुमार मधेसवादी, विष्णुप्रसाद वाग्ले नेपाली कांग्रेस र ईश्वरी शर्मा ढकाल वैद्य माओवादी कोटाबाट नियुक्ति भएका हुन् ।

यसअघि शर्माकी श्रीमान् विष्णुहरि शर्माकी श्रीमती भएको स्रोतको भनाइ छ । श्रीमान्को नियक्तिको समय सकिएपछि भागवण्डा मिलाउन ईश्वरी शर्मा ढकाललाई नियुक्ति गरिएको स्रोतको भनाइ छ ।

सहनियन्त्रकमध्ये पशुपति अधिकारी र भूपाल श्रेष्ठ २०७३ भदौ २४ गतेदेखि निरन्तर कार्यरत छन् । बाँकी ७ जना २०७४ भदौ १५ गते नियुक्ति भएका हुन् । महिला सह–नियन्त्रक शर्मा २०७४ कातिक १ गते नियुक्ति भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्